महोत्तरी- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया महोत्तरी जिल्लाभर शान्तिपूर्ण रूपमा जारी रहेको छ ।
जिल्लामा कायम चार निर्वाचन क्षेत्रमा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र तोकिएका छन् । सबै मतदान केन्द्रमा मतदाताहरू उत्साहपूर्वक उपस्थित भई आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।




निर्वाचन कार्यालयका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल ४ लाख ३१ हजार २०२ मतदाता रहेका छन् । तीमध्ये ठूलो सङ्ख्यामा मतदाता बिहानैदेखि मतदान केन्द्र पुगेर मतदानमा सहभागी भइरहेका छन् ।

जिल्लाभरका मतदान केन्द्रहरूमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रशासनले जनाएको छ । कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा परिचालन गरिएको छ ।

मतदानलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना परिचालित छन् ।

जिल्ला प्रशासनले मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।






