महोत्तरी- महोत्तरीमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान १० बजेसम्म १४ प्रतिशत मतदान भएको छ ।
जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार सो अवधिसम्म जिल्लाभर कुल ६२ हजार ९१३ मतदाताले मतदान गरेका छन् । तीमध्ये ३० हजार १०० महिला र ३२ हजार ८१३ पुरुष रहेका छन् ।



निर्वाचन क्षेत्र नं. १ मा चार हजार १०० महिला र छ हजार ३८० पुरुष गरी कुल १० हजार ४८० जनाले मतदान गरेका छन् । निर्वाचन क्षेत्र नं. २ मा सात हजार ८५४ महिला र आठ हजार २४ पुरुष गरी १५ हजार ८७८ जनाले मतदान गरेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं. ३ मा १० हजार २३३ महिला र ११ हजार १५८ पुरुष गरी २१ हजार ३९१ जनाले मतदान गरेका छन् भने निर्वाचन क्षेत्र नं. ४ मा सात हजार ९१३ महिला र सात हजार २५१ पुरुष गरी १५ हजार १६४ मतदाताले मतदान गरेका छन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कुनै पनि मतदान स्थलबाट मतदान अवरुद्ध भएको वा अप्रिय घटना भएको सूचना प्राप्त भएको छैन ।
यसैबीच जलेश्वर कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा बिहानै २१ जना कैदीबन्दीले मतदान गरेका छन् । सो केन्द्रमा रहेका सबै कैदीबन्दीले मतदान गरेसँगै जलेश्वर कारागारमा शतप्रतिशत मतदान भएको जनाइएको छ ।




