प्रतिनिधिसभामा आगामी पाँच वर्षका लागि ६ दलको प्रतिनिधित्व हुने संकेत देखिएको छ। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आइरहँदा ६ दल मात्र संसदमा पुग्ने सम्भवना देखिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइको दिशामा देखिँदा कांग्रेस, एमाले र नेकपा राष्ट्रिय दल बन्ने निश्चित देखिन्छ। रास्वपाले प्रत्यक्षतर्फ ३८ सिट जित्दा ८१ स्थानमा अग्रता छ।
कांग्रेसले ५ स्थान जित्दा ११ मा अग्रता छ भने एमालेले २ सिट जित्दा ८ स्थानमा अग्रता लिरहेको छ। नेकपाले २ सिट जित्दा ८ मा अग्रता छ। राप्रपा १ सिटमा जित नजिक पुगेको छ भने श्रम संस्कृति पार्टीले ४ ठाउँमा अग्रता लिरहेको छ। १६१ निर्वाचन क्षेत्रको मत गणना हुँदा २०७९ मा संसदमा पुगेका केहीको जित्ने सम्भवाना देखिएको छैन।



समानुपातिकतर्फ समाचार तयार पर्दासम्म २ लाख १८ हजार ९७१ मत गणना हुँदा रास्वपाले १ लाख १९ हजार ३१५ मत पाएको छ। कांग्रेसले ३६ हजार ११९, एमाले २६ हजार ८७७, राप्रपा १० हजार ४ सय ९४, नेकपाले ९०१४ र श्रम संस्कृतिले ६ हजार १२८ मत पाएको अवस्था छ।
२०७९ को निर्वाचनबाट प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व भएको थियो। सातवटा दलले राष्ट्रिय मान्यता पाउँदा पाँचवटा दलले राष्ट्रिय मान्यता नपाएपनि संसदमा प्रतिनिधित्व भएको थियो। कांग्रेस, एमाले, तत्कालीन नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएका थिए।
तत्कालीन एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी राष्ट्रिय दल नबनेपनि संसदमा पुगेका थिए। तत्कालीन माओवादी र एकीकृत समाजवादीबीच एकता भएर नेकपा बनेको छ भने लोसपा जसपामा समाहित भएको छ।
अस्तित्वमा रहेका जसपा, जनमत, नाउपा, नेमकिपा र जनमोर्चाको संसदमा उपस्थिति नहुने पक्का भएको छ। उपेन्द्र यादव नेतृत्वको जसपाले गत निर्वाचनमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट जितेको थियो। सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ सिट जोडेर ६ सिट हासिल गरेको थियो।
समानुपातिकतर्फ थ्रेसहोल्ड नकटाए पनि लोसपाले प्रत्यक्षतर्फ ४ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका थिए। राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक–एक सिट जितेका थिए।
मोरङ ५ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिंह, रौतहट २ बाट किरण कुमार साह, रौतहट ३ बाट प्रभु साह, र बर्दिया २ बाट लालवीर चौधरी स्वतन्त्र सांसदका रुपमा निर्वाचित भएका थिए।
यसपटक महावीर पुन बाहेक कुनै पनि स्वतन्त्र उम्मेदवारले जित्ने सम्भवना देखिएको छैन। प्रभु साह नेतृत्वको आम जनता पार्टी पनि संसदमा नपुग्न देखिएको छ।




