नागेन्द्रकुमार कर्ण,महोत्तरी- जिल्ला प्रहरी कार्यालय महोत्तरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक विश्वम्भर नाथ साहका अनुसार भारतीय नागरिकहरूले नेपाली महिलालाई विवाहको प्रलोभनमा पारेर भारततर्फ लैजान खोज्दा उनीहरूलाई जिल्लाको भिठामोड नाकाबाट दुई दिनअघि पक्राउ गरिएको हो।
सूचनाको आधारमा जलेश्वर नगरपालिका–३, मलिवारा स्थित नेपाल–भारत भिठामोड सीमा क्षेत्रमा चार जना भारतीय नागरिक एक नेपाली महिलासँग मानव बेचबिखन तथा ओसारपसारको प्रयासमा पक्राउ परेका थिए। पक्राउ पर्नेमा भारत गुजरात बस्ने ३६ वर्षीय सदिक बाक्सु भुर्च, ५६ वर्षीय हसम अबदुला पटेलिया, २८ वर्षीय किसन भगवानभाई गढिया र २८ वर्षीय सुनिल भगवानभाई गढिया रहेका छन्।
उनीहरूले नेपाली महिलालाई ललाइफकाइ प्रलोभनमा पारि विवाहको नाटक गरि भारततर्फ लैजान खोज्दा प्रहरीको निगरानीमा परेका थिए। प्रहरी निरीक्षक साहका अनुसार सो घटनामा संलग्न अन्य तीनजनालाई पनि पक्राउ गरिएको छ।
यसमा पीडितको नक्कली आमाको भूमिका निर्वाह गर्ने ५० वर्षीया महिला धनुषा, मिथिलाबिहारी नगरपालिका–३०, बहिनीको भूमिका निभाउने १८ वर्षीया महिला, भंगहा नगरपालिका–६० र नेपाल तर्फको मुख्य नाइके भंगहा नगरपालिका–८, नुरी बाबा–नु अली) समावेश छन्। पक्राउ परेका महिलाहरूको नाम सार्वजनिक गरिएको छैन। सातै जनालाई अदालतमा पेश गरी म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।-गोरखापत्र


