सुजाता राई
विराटनगर । ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लघु, घरेलु तथा महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी तथा सम्मान कार्यक्रम सोमबार विराटनगरस्थित इन्द्रेणी पार्टी प्यालेसमा सम्पन्न भएकोछ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ उद्यम समिति मोरङको आयोजना तथा विराटनगर महानगरपालिका र कोशी प्रदेशको सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका चार व्यक्तित्व सम्मानित भए। उत्कृष्ट महिला उद्यमीका रूपमा नाइटिङ्गल बुटिककी हंसा कुमारी माझी सम्मानित भइन्। पेशागततर्फ न्याय क्षेत्रबाट अधिवक्ता माया अधिकारी, आत्मसम्मान विधाबाट मञ्जू ढकाल तथा संस्थागततर्फ सरु के.सी. सम्मानित भए।

उक्त कार्यक्रमको अध्यक्षता नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति अध्यक्ष अमृता भण्डारी र महासंघ अध्यक्ष चेतनाथ निरौलाले गरे। प्रमुख अतिथिका रूपमा घरेलु तथा साना उद्योग कार्यालय मोरङ प्रमुख भवानी घिमिरेको अतिथ्यतामा अमृता भण्डारी, चेतनाथ निरौला, युवा संरक्षक मञ्च अध्यक्ष निशा श्रेष्ठ, सम्मानित व्यक्तित्व अधिवक्ता माया अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेश उपाध्यक्ष लीला देवी रिजाल तथा केन्द्रीय सदस्य जानुका थापाले मन्तव्य राखे।
कार्यक्रमको सञ्चालन नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति निवर्तमान अध्यक्ष सुनिता छारहङले गरिन्।



