महोत्तरी – चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा महोत्तरी जिल्लाबाट ११ हजार ५०२ विद्यार्थी सहभागी हुने भएका छन्।
परीक्षामा सहभागी हुनेमध्ये सामुदायिक विद्यालयतर्फ साधारण धारमा ३ हजार ६०६ छात्र र ३ हजार ९६० छात्रा गरी कुल ७ हजार ५६६ विद्यार्थी रहेका छन्। त्यसैगरी संस्थागत विद्यालयतर्फ साधारण धारमै ४९९ छात्र र ३४० छात्रा गरी ८३९ विद्यार्थी सहभागी हुने भएका छन्।



यस्तै, प्राविधिक धारतर्फ सामुदायिक विद्यालयका २४५ छात्र र १५५ छात्रा गरी कुल ४०० विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
ग्रेडवृद्धितर्फ सामुदायिक विद्यालयका १ हजार ८६ छात्र र १ हजार ५९८ छात्रा गरी २ हजार ६८४ विद्यार्थी सहभागी हुने भएका छन् भने संस्थागत विद्यालयतर्फ ११ छात्र र २ छात्रा गरी १३ विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिनेछन्।
जिल्लाबाट कुल ५ हजार ४४७ छात्र र ६ हजार ५५५ छात्राले परीक्षा दिनेछन्।
फरक क्षमता अन्तर्गत बहिरा स्रोत कक्षा गौशालाबाट ग्रेडवृद्धितर्फ १ छात्र सहभागी हुने भएको छ भने यस वर्ष अन्य स्रोत केन्द्रबाट फरक क्षमता भएका विद्यार्थी सहभागी छैनन्।
गत वर्ष ३२ परीक्षा केन्द्र तोकिएको महोत्तरीमा यस वर्ष ३३ केन्द्र निर्धारण गरिएको छ। परीक्षाका लागि ३३ केन्द्राध्यक्ष, ५७ सहायक केन्द्राध्यक्ष, ५५१ निरीक्षक, ९८ परीक्षा सहायक र २२१ कार्यालय सहयोगी खटाइएका छन्। प्रत्येक केन्द्रमा सुरक्षाकर्मीको समेत व्यवस्था गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीका निमित्त प्रमुख बरुण चौधरीले परीक्षा मर्यादित र व्यवस्थित बनाउन आवश्यक निर्देशन दिइसकिएको जानकारी दिएका छन्।




