महोत्तरी – महोत्तरी सहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य उपासनाको महान् पर्व चैती छठ मनाइँदैछ ।नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ पर्वको आज मुख्य दिन षष्ठी तिथिका अवसरमा व्रतालुले विभिन्न जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै श्रद्धापूर्वक पूजा गर्नेछन् ।
आज साँझ व्रतालुले घरघरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानी–पिसानी गरी सोबाट निस्केको पीठोबाट तयार गरिएका ठकुवा, भुसवा, खजुरीया, पेरुकियालगायतका गुलियो प्रसाद तथा विभिन्न फलफूल, मुला, गाजर, बेसारको गान्हो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा लगायत सामग्री नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती र ठूला ढाक्कीमा सजाएर परिवारसहित भजन–कीर्तन गर्दै छठ घाटतर्फ प्रस्थान गर्नेछन् । साँझको सन्ध्याकालीन अर्घका क्रममा व्रतालुहरू पानीमा पसी अस्ताउँदो सूर्यको आराधना गर्नेछन् । उनीहरूले दुवै हातमा पिठार र सिन्दुर लगाई अक्षता र फूल अर्पण गर्दै अस्ताचलगामी सूर्यलाई अर्घ प्रदान गर्ने परम्परा छ ।



चैती छठ पर्व महोत्तरीका औरही, गौशाला, सम्सी, बर्दिबास, मटिहानी, सुगा, पिपरा लगायतका स्थानसहित सदरमुकाम जलेश्वर तथा जिल्लाभरका सहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी, तलाउ, नदी, नहर किनारमा धार्मिक विधिपूर्वक मनाइँदै आएको छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने विश्वासका साथ श्रद्धापूर्वक मनाइने यस पर्वका अवसरमा जलाशय क्षेत्रहरूमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
भोलि अन्तिम दिन व्रतालुहरूले पुनः छठ घाटमा पुगेर बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चैती छठ पर्व विधिवत रूपमा सम्पन्न हुनेछ ।




