जनकपुरधाम । धनुषाको नगराईन नगरपालिकामा लैंगिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले सहभागितामूलक योजना तर्जुमा सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघीय महिला कार्यक्रम (UN Women) को आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकारको “सशक्त महिला, समृद्ध नेपाल” अभियान अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो। प्रो पब्लिकको अगुवाइमा निड्स नेपाल, धनगढी र सुशासन प्रवर्द्धनका लागि युवा, सुर्खेतको साझेदारीमा कार्यक्रम आयोजना गरिएको छ।




नगराईन नगरपालिका वडा नं. २ को समन्वयमा बिहीबार आयोजित कार्यक्रममा योजना तर्जुमाका सात चरणबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा महिला, दलित, जनजाति तथा अन्य सीमान्तकृत समुदायका ४० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका सहजकर्ता तथा प्रो पब्लिकका मधेस प्रदेश कार्यक्रम संयोजक अजय साहले योजना तर्जुमाका चरणहरू, सीमान्तकृत वर्गको अर्थपूर्ण सहभागिता, प्राथमिकताका आधारमा योजना छनोट, बजेट विनियोजनमा समावेशिता, पारदर्शिता र जवाफदेहिता जस्ता विषयमा प्रकाश पार्नुभयो। साथै महिला तथा पिछडिएको वर्गका लागि विनियोजित बजेटको अवस्थाबारे पनि जानकारी दिइयो।

कार्यक्रमको अध्यक्षता वडा नं. २ का वडा सदस्य सीताराम महतोले गर्नुभएको थियो। कार्यक्रममा महिलाहरूलाई योजना तर्जुमा प्रक्रियामा सक्रिय बनाउने, आफ्ना सवालहरू उठान गर्ने तथा विकास योजनालाई पारदर्शी र जवाफदेही बनाउन क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

यस परियोजनाले स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्दै सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्न जोड दिँदै आएको छ। कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभवहरू बाँड्दै सुधारका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा वडा सदस्यहरू विक्रम ठाकुर, सिकिलिया देवी र थोलिया देवी सदा लगायतको उपस्थिति रहेको थियो।




