सर्लाहीको लालबन्दी नगरपालिका–१५ स्थित बोहोरे डाँडामा रहेको गाङदेन छयोईलिङ बौद्ध गुम्बामा आज श्रम संस्कृति पार्टीको आयोजनामा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
वातावरण संरक्षण तथा धार्मिक स्थलको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयवासी र पार्टीका कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।
श्रम संस्कृति पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा क्षेत्र नम्बर–१ का उम्मेदवार सुमन अधिकारीले साताको छ दिन व्यक्तिगत काममा र एक दिन राष्ट्र निर्माणका लागि श्रमदान गर्ने अभियानअन्तर्गत शनिबारलाई “श्रमवार”का रूपमा मनाउँदै आएको बताउनुभयो।
उहाँले पछिल्लो समय युवाहरू लागूऔषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोग लगायत नकारात्मक गतिविधितर्फ आकर्षित भइरहेको अवस्थामा श्रमदानमार्फत सकारात्मक सोच र समाज सेवामा जोड्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो।

अधिकारीका अनुसार प्रत्येक शनिबार जिल्लाका विभिन्न मठ–मन्दिर, पाटी–पौवा, सार्वजनिक स्थल तथा शौचालय क्षेत्रमा सरसफाइ, वृक्षरोपण र सौन्दर्यकरण कार्यक्रम सञ्चालन हुँदै आएको छ। श्रममार्फत देश निर्माण गर्ने उद्देश्यसहित अभियान निरन्तर अघि बढाइने उहाँले बताउनुभयो।कार्यक्रमका क्रममा लालबन्दीस्थित बागवानीबाट ल्याइएका करिब पाँच सय फलफूलका बिरुवामध्ये एक सयदेखि एक सय पचास वटा बिरुवा गुम्बा परिसरमा रोपिएको छ। अमला, जामुन, कागती र अम्बा लगायतका बिरुवा रोपिएको तथा बाँकी बिरुवा अन्य उपयुक्त स्थानमा रोप्न लगिएको जनाइएको छ।
कार्यक्रमले वातावरणीय सन्तुलन कायम गर्न मद्दत पुग्नुका साथै भविष्यमा स्थानीय समुदायलाई फलफूलबाट समेत लाभ पुग्ने विश्वास गरिएको छ। सहभागीहरूले श्रमदानले गुम्बा परिसर थप स्वच्छ र आकर्षक बनेको बताएका छन्।
यसैबीच ईश्वरपुर नगरपालिका–५ का ६८ वर्षीय श्रमदाता सिता कोइराला र शुभलाल जिम्बाले श्रम संस्कृतिमार्फत देशलाई सुन्दर बनाउने अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभएको छ।







