बर्दिवासस्थित पंचधुरा आधारभूत विद्यालयलाई नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, बर्दिवास शाखाले आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री उपलब्ध गराएको हो ।




विद्यालयका प्रधानाध्यापक श्यामकुमार पौडेलका अनुसार बैंकले ट्र्याकसुट, टी–सर्ट, जुत्ता, मोजा, ब्याग, कापी, पेन्सिल, इरेजर, कटर, औजार बक्स, ‘अल इन वन’ पुस्तक, कलर पेनलगायत सामग्री सहयोग गरेको छ ।
प्रधानाध्यापक पौडेलले आर्थिक रूपमा विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा बैंकले परिचयपत्रसहित शैक्षिक सामग्री उपलब्ध गराएकोमा खुशी व्यक्त गरे। उनले सामाजिक उत्तरदायित्व अन्तर्गत हुने यस्ता सहयोगले सरकारी सहयोगको मात्र अपेक्षा नगरी अन्य क्षेत्रबाट पनि शैक्षिक विकास सम्भव रहेको देखाएको बताए ।
बैंकका शाखा प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा आयोजित हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।




