महोत्तरी – गौशाला नगर युवा सञ्जालले बजार क्षेत्रको व्यवस्थापन तथा सरसफाइ सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै एक हप्ते अल्टिमेटम दिएको छ ।सञ्जालका अध्यक्ष भरत महतो कोईरीको नेतृत्वमा करिब २० जना युवाको समूहले मंगलवार गौशाला नगरपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय गौशाला, वडा नं. ५ को कार्यालय, इलाका प्रहरी कार्यालय गौशाला, ट्राफिक प्रहरी कार्यालय गौशाला, गौशाला उद्योग वाणिज्य संघ तथा नगर प्रमुखसमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रमा गौशाला बजार महोत्तरी जिल्लाको एक महत्वपूर्ण तथा ऐतिहासिक व्यापारिक केन्द्रका रूपमा परिचित रहँदै आएको उल्लेख गरिएको छ । हुलकी राजमार्गसँग जोडिएको तथा पूर्व–पश्चिम राजमार्ग नजिक अवस्थित यस बजारले कृषि उत्पादन, बिक्री–वितरण, पशुपालन तथा स्थानीय व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाइएको छ ।
तर पछिल्लो समय बजार क्षेत्रको व्यवस्थापन तथा सरसफाइ अवस्था कमजोर बन्दै गएकोप्रति सञ्जालले गम्भीर चिन्ता व्यक्त गरेको छ । जथाभावी फोहोर फालिने, नाला तथा ढल अवरुद्ध हुने, सडक अतिक्रमण तथा अव्यवस्थित पार्किङका कारण बजार क्षेत्र अस्तव्यस्त बन्नुका साथै सर्वसाधारणको स्वास्थ्य र वातावरणमा प्रतिकूल असर परेको उल्लेख गरिएको छ ।




सञ्जालले नियमित तथा प्रभावकारी सरसफाइ व्यवस्थापन सुनिश्चित गर्न, फोहोर सङ्कलन तथा व्यवस्थापन प्रणाली व्यवस्थित बनाउन, नाला तथा ढलको तत्काल सफाइ तथा मर्मत गर्न, सडक अतिक्रमण हटाउन तथा पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउन माग गरेको छ ।

सञ्जालका अध्यक्ष भरत महतो कोईरीले बजारको वर्तमान अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै समयमै सुधारका लागि ठोस कदम चाल्न आवश्यक रहेको बताउनुभयो । उहाँले सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गर्दै एक हप्ताभित्र माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिनुभयो ।पत्रमा उल्लिखित मागहरू एक हप्ताभित्र कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।
अन्यथा समस्या समाधानका लागि थप सशक्त कदम चाल्न बाध्य हुने सञ्जालले जनाएको छ । सम्बन्धित निकायबाट शीघ्र सकारात्मक पहल हुने अपेक्षा गरिएको छ ।



















