सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिका-५ साईटारस्थित बी.पी. राजमार्ग मा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा नौ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौँबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको हायस र विपरीत दिशाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख २२९७ नम्बरको बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो।



हायस चालक ललितपुर महानगरपालिका-१५ का ३८ वर्षीय गजबहादुर मगर र बस चालक दोलखा बैतेश्वर गाउँपालिका-६ का २६ वर्षीय सुमन सुवेदी रहेका छन्। दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै रातामाटा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय खुर्कोट तथा ट्राफिक प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। घाइतेहरूको उद्धार गरी नजिकका स्वास्थ्य संस्थामा पठाइएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। हायस चालक मगरसहित काभ्रे मण्डनदेउपुर-९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रबिन तिवारीलाई टाउकोमा चोट लागेपछि धुलिखेल अस्पताल रिफर गरिएको छ। त्यस्तै, प्रशान्त के.सी.को अनुहार र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ।
अन्य घाइतेहरूको उपचार आत्मीय सामुदायिक अस्पताल खाल्टेमा भइरहेको छ। उनीहरूमा सामान्यदेखि मध्यम खालका चोट लागेको चिकित्सकहरूले जनाएका छन्।
घाइतेमध्ये झापाका विभिन्न स्थानका यात्रुहरू समेत रहेका छन्, जसमा संस्कृती यादव, कल्पना राई, अमेश खड्का, अमृत राना मगर र दिनप्रसाद सिग्देल लगायत रहेका छन्।





