प्रकृतिको मूलमा प्रकृतिको प्रत्यक्ष स्पर्श महसुस गर्ने यात्रा आफैँमा अत्यन्तै सुन्दर र महत्वपूर्ण थियो । मैले महसुस गरेँ, साँच्चै प्रकृतिको आनन्द लिन चाहने हो भने यो ठाउँभन्दा उपयुक्त संसारमा अरू कुनै ठाउँ हुन सक्दैन । सायद यो निष्कर्ष मेरो मात्र होइन, यो बाटोमा पदयात्रा गर्न आउने विश्वका विभिन्न भागका पर्यटकको पनि हो ।

हिजो चामे आइपुग्दा साँझको करिब साढे ६ जति बजेको थियो । बाटो खासै सहज नहुँदा थकानको अनुभव हुनु अस्वाभाविक थिएन । अहिले बिहान अबेरसम्म सुतिएछ । एउटा फोनले पो ब्युँझायो । घडी हेरेको–बिहानको साढे ७ बजिसकेछ । फोन हेरेको–पत्रकार नवीन लामिछानेको रहेछ । उनी अहिले चामेमै रहेछन् । उनीसँग बेँसीसहरदेखि नै म सम्पर्कमै थिएँ ।नवीनसँगको सम्पर्क विच्ेछदपछि नित्यक्रियादि सम्पन्न गरी म बाहिर गएँ । नवीन र मिला भेटिए । एकछिन गफगाफ भयो । एकछिन घट्टेखोलातिर घुमियो । यही खोलाको पानीले घट्ट चल्ने रहेछ र चामेमा कुटानी पिसानीको काम हुने रहेछ । बिहानको प्रकृति निकै नै मनमोहक थियो । हिजो आउँदा साँझ परिसकेकोले खासै दृश्यपान गर्न सकिएको थिएन, तर अहिले अवस्था फरक छ । यहाँ केही जंगल पनि रहेको देखियो । चामेको उचाइ (२ हजार ६७० मि.)जत्तिकै हो मुस्ताङको जोमसोमको उचाइ पनि । दुबै ठाउँ पुगेको आधारमा एउटा फरक अनुभूत गरेको थिएँ, जोमसोममा जंगलको उपस्थिति कम छ तर चामेमा वन राम्रै देखिएको थियो । मुस्ताङ र मनाङ सीमा जोडिएको जिल्ला हो तर भौगोलिक यथार्थमा भने केही भिन्नता छ । मुस्ताङमा हरियालीको अभावजस्तो लागेको थियो मलाई, मनाङमा भने तुलनात्मकरूपमा मैले हरियाली देखेको थिएँ ।



धुपी र सल्लाको वनबीच मस्र्याङ्दीको गर्जन
मस्र्याङ्दी किनारमा लमतन्न पल्टिएझैँ लाग्ने चामे बजार आकारमा सानो भए पनि वस्ती भने छरिएको छ । माडामा सरकारी कार्यालय अवस्थित छन् । हामी यही क्षेत्रमा रहेको जिल्ला प्रशासन कार्यालयको आवासमा बसेका छौँ । अर्को महŒवपूर्ण क्षेत्र हो ठाडो लाइन (नयाँबजार) । मस्र्याङ्दी नदी पारि तातोपानी र भक्तपुर छ । बेँसीसहरतर्फबाट आउँदा नमस्ते गेटबाट सुरु हुन्छ चामे बजार । बजार क्षेत्रमै पनि उकाली ओराली यात्रा । पूर्वमा मनास्लु, दक्षिण÷पश्चिममा अन्नपूर्ण र लमजुङ हिमालले घेरिएझैँ लग्ने चामे बजारमा हिँडिरहँदा लाग्थ्यो ती हिमालमा ठोक्किएर आएको हावाले मलाई छोइरहेको छ । थोरै चिसोको अनुभूति जो भइरहेको थियो ।
शनिबार, अर्थात २०८२ चैत १ । आवास फर्कंदा करिब ९ जति बजेको थियो । अर्को आधा घण्टापछि हामी तयार भएर आवासबाट बाहिरिएका थियौँ । करिब १० बजेको हुँदो हो, हामी प्रसिद्ध पर्यटकीय स्थल खाङसारतिर लाग्यौँ । मैले पहिले कतै सुनेको थिएँ, मनाङको सदरमुकाम चामेबाट खाङसारसम्मको करिब ४० किलोमिटरको यात्रा निकै नै रोमाञ्चक र हिमाली दृश्यले भरिपूर्ण छ । यो बाटो अन्नपूर्ण पदमार्गको एक महŒवपूर्ण हिस्सा हो । आफूसँग भएको जानकारीका आधारमा म यो भ्रमणका लागि निकै उत्साहित थिएँ । छोरी कृतिका र नाती इभानले हामीसँग यात्रा गरेका थिएनन् । मेरो छोरीज्वाइँ, नवराज पौडेल यहाँको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुन् । उनैले यात्राको नेतृत्व गरिरहेका थिए । यात्रा टोलीमा म र सिडिओ साहबका अतिरिक्त पत्नी मुन्नी र सहकर्मीद्वय नवीन पौडेल तथा यादव गोतामे थियौँ । गाडीका माध्यमबाट हाम्रो यात्रा मस्र्याङ्दी नदीको किनारैकिनार अगाडि बढिरहेको थियो । चिसो सिरेटोसँगै चामेबाट अगाडि बढ्दा मस्र्याङ्दी नदीको गर्जनले स्वागत गरेजस्तो लाग्छ । सल्ला र धुपीका वनहरू छिचोल्दै जाँदा देखिने दृश्यले थकान बिर्साउँछ ।

उपल्लो मनाङमा स्याउ खेती, स्वर्गद्वारी र विमानस्थल
लगभग १–२ किलोमिटर अगाडि बढेपछि, चामे गाउँपालिका समाप्त हुन्छ र मनाङ ङिस्याङ गाउँपालिका सुरु हुन्छ । यहाँबाट उपल्लो अर्थात् माथिल्लो (अपर) मनाङ सुरु भएको मानिन्छ । केहीले भने ढिकुरपोखरीबाट अपर मनाङ प्रारम्भ हुने पनि मान्दछन् । प्रकृतिको मूलमा प्रकृतिको प्रत्यक्ष स्पर्श महसुस गर्ने यात्रा आफैँमा अत्यन्तै सुन्दर र महत्वपूर्ण थियो । मैले महसुस गरेँ, साँच्चै प्रकृतिको आनन्द लिन चाहने हो भने यो ठाउँभन्दा उपयुक्त संसारमा अरू कुनै ठाउँ हुन सक्दैन । सायद यो निष्कर्ष मेरो मात्र होइन, यो बाटोमा पदयात्रा गर्न आउने विश्वका विभिन्न भागका पर्यटकको पनि हो । त्यसैले त तिनीहरू संसारका अन्यत्र जान छोडेर यहाँ आउँछन् । हाम्रो गाडी अघि बढिरहेको थियो । बाटोमा हामीले सयौँ विदेशी पर्यटकले पदयात्रा गरिरहेको देख्यौँ । नेपालमा सम्भवतः सबैभन्दा बढी विदेशी पर्यटक पदयात्रामा सहभागी हुने मार्ग नै यही हो ।
हामी अलि अगाडि बढ्यौँ, तालेरहु (२ हजार ७२० मि.) र त्यसपछि भ्राताङ (२ हजार ८५० मि.) पुग्यौं । यो ठाउँ स्याउ खेतीका लागि प्रसिद्ध छ । मनाङका स्याउ विश्वप्रसिद्ध छन् र मनाङमा भ्राताङका स्याउ प्रसिद्ध छन् । यहाँको हावापानी र वातावरण स्याउ खेतीका लागि अनुकूल मानिन्छ । हालसालै, इटालीबाट उन्नत जातका स्याउको बिरुवा ल्याएर हाइब्रिड प्रविधिबाट खेती गरिँदै छ ।
भ्राताङदेखि पिसाङ र माथिका क्षेत्रमा ठुलो मात्रामा स्याउ खेती गरिन्छ । अहिले स्याउको मौसम होइन, त्यसैले रूखहरू उजाड देखिन्छन् । स्याउको मौसममा सम्पूर्ण क्षेत्र गुलजार देखिन्छ रे । भ्राताङमा एउटा प्रसिद्ध वाइन कारखाना छ । मौसममा बिक्री नहुने स्याउबाट वाइन उत्पादन गरिन्छ । यहाँका वाइन प्रसिद्ध छन् । मनाङबाट कोसेलीका रूपमा पर्यटकले लिन सक्ने एउटा स्थानीय उत्पादनका रूपमा पनि यो वाइनको परिचयमा वृद्धि हुँदै गएको छ ।
यहाँबाट अगाडि बढ्दै गर्दा हामी एउटा यस्तो ठाउँमा पुग्यौँ, जहाँ प्रकृतिले आफ्नै क्यानभासमा चित्र कोरेको भान हुन्छ । स्वर्गद्वारीका नामले प्रख्यात छ यो पर्यटकीय स्थल । मस्र्याङ्दीको किनारमा रहेको चट्टानी पहाड । मनाङको यात्रामा मलाई सबैभन्दा अचम्म लागेको भू–बनोट यही थियो । स्थानीय भाषामा यसलाई ‘पाउङ्गदा डाँडा’ भनिन्छ । झट्ट हेर्दा एउटा विशाल, चिल्लो र कचौरा आकारको चट्टानी पहाडजस्तो देखिन्छ । स्थानीय विश्वासअनुसार यो स्वर्ग जाने ढोका हो । यसको बनावट यति चिल्लो छ कि यसमा हिउँ पनि अडिन गाह्रो हुन्छ भनिन्छ । करिब १ हजार ५०० मिटर सिधा भिरका रूपमा ठडिएको यो डाँडो आफैँमा अनौठो छ । स्वर्गद्वारीपछि ढिकुरपोखरी, माथिल्लो र तल्लो पिसाङ आउँछ, त्यसपछि प्रवेश गरिन्छ हुन्डेमा । यसलाई कतिपयले हुम्दे पनि भन्छन् ।
स्वर्गद्वारी कटेपछि उपल्लो मनाङको भूगोल फेरिन थाल्छ । यहाँबाट वनस्पतिहरू होचा र मरुभूमिजस्तै सुक्खा देखिन थाल्छन् । केही समयपछि हामी हुन्डे (३ हजार ३३० मि.) पुग्यौँ । हामीले चामेबाट हुन्डेसम्म लगभग १७ किलोमिटर यात्रा गरेका थियौँ । चामेभन्दा पहिले यही नै सदरमुकामजस्तो थियो रे । यहाँ मस्र्याङ्दी नदीको किनारमा विमानस्थल अवस्थित छ । मनाङमा सडक पुग्नुअघि यहाँ हवाइसेवा सञ्चालनमा थियो । तर, हाल विमानस्थल सञ्चालनमा छैन । यहाँबाट अन्नपूर्ण रेन्ज र पिसाङ पिकको मनमोहक दृश्य देखिन्छ । यहाँको लामो ‘माने’ले बौद्ध धर्मको गहिरो प्रभावलाई दर्शाउँछ ।

पर्यटक लोभ्याउँदै निलो र हरियो ताल
हुन्डेलाई यस क्षेत्रको प्राचीन सभ्यताको केन्द्र मानिन्छ । धेरै ठाउँमा भगवान् बुद्धका मूर्तिहरू स्थापित छन् । हेर्दा लाग्छ, यो ठाउँ विगतमा मनाङ सभ्यताको महत्वपूर्ण केन्द्र थियो होला । यस क्षेत्रमा दुईटा धेरै महत्वपूर्ण ताल छन् – निलो पानी भएको ताल (ब्लु लेक) र हरियो पानी भएको ताल (ग्रिन लेक) । यी दुवै ताल पर्यटकमाझ निकै लोकप्रिय छन् । पर्यटकलाई लोभ्याउने यी ताल देशबाहिर पनि प्रसिद्ध हुँदै गएका छन् । स्थानीयले ब्लु लेकलार्ई सिंग्दे र सब्जे ताल पनि भन्छन् । ग्रिनलेकको छेउबाट घ्यारु भन्ने ठाउँका लागि बाटो छुट्टिन्छ ।
हुन्डेमा एक ठाउँमा अद्भुत दृश्य देखियो । झरनामा हावामा हिउँ झुन्डिएको थियो । हिउँदमा हिउँ बग्ने झरनाको हिउँ सायद बग्दाबग्दै अडिएको थियो । यो एउटा उत्कृष्ट दृश्यावलोकनको अनुभव अनुपम थियो । हामी त्यहाँ गयौँ र केही समय हिउँसँग खेल्दै रमाइलो ग¥यौँ । हुन्डेनजिकै छ नावल । यहाँबाट नार्फु गाउँ जान सकिन्छ । त्यहाँबाट हामी भुङ अनि भ्राका (३ हजार ४०० मि.) तिर लाग्यौँ । भ्राकामा सायद कुनै चलचित्रको छायांकन भइरहेको थियो । अलि अगाडि बढेपछि २ वटा बाटो छुट्टिए, एउटा बाटो मनाङ (३ हजार ५४० मि.) गाउँतिर र अर्को खाङसार (३ हजार ७५६ – ३ हजार ८०० मि.) तिर जान्छ । मनाङ गाउँ जाने द्वारले हामीलाई तल मूल बाटोमै स्वागत गरेको थियो । तर हामी अहिले मनाङ गाउँतर्फको उकालो नउक्लिएर सोझै खाङसारतिर लाग्यौँ ।
तिलिचोको ‘गेटवे’ खाङसारमा भेटिएका जर्मन पर्यटक
मनाङबाट खाङसार जाने बाटो ‘थोराङला पास’ तिर जाने मूल बाटोभन्दा फरक छ । यो बाटो मस्र्याङ्दीको एउटा सहायक नदीको किनारै किनार उकालो लाग्छ । खाङसारलाई ‘तिलिचोको द्वार’ पनि भनिन्छ । विश्वको सबैभन्दा अग्लो स्थान (करिब ५ हजार मि.)मा रहेको ताल हो तिलिचो ।
खाङसार गाउँ अन्य बस्तीको तुलनामा अलि एकान्त र शान्त छ । खाङसार एक परम्परागत मनाङी गाउँ हो । यहाँका घर ढुंगा र माटोले बनेका छन् । घरका झ्यालमा काष्ठकलाको सुन्दर नमुना देख्न सकिन्छ । यो गाउँमा अहिले पनि भेडापालन र चौँरीपालन मुख्य पेसाका रूपमा प्रचलनमा छ । यहाँको जीवनशैली र संस्कृति विशुद्ध भोट–बर्मेली परम्परामा आधारितजस्तो देखिन्छ । प्रजिअ पौडेलका अनुसार खाङसारभन्दा माथि ‘श्रीखर्क’ र ‘तिलिचो बेस क्याम्प’ पर्दछन् ।
हामी दिउँसो २.३० बजेतिर खाङ्सार पुगेका थियौँ । खाङ्सारबाट अन्नपूर्ण रेन्ज र गंगापूर्ण हिमालको नजिकबाट अवलोकन गर्न सकिन्छ । हावाको तीव्रता बिस्तारै बढ्दै थियो । मुस्ताङ जाने बाटोमा यो मनाङ जिल्लाको अन्तिम बस्ती हो । यो धेरै प्राचीन बस्ती रहेको मानिन्छ । सानो बस्ती । बस्तीमा साना घरहरू । सानो बजार । तर गाउँमा हामीले कसैलाई देखेनौँ । मैले र मुन्नीले कुरा पनि ग¥यौँ – यो कस्तो गाउँ रहेछ जहाँ मानिस नै देखिँदैनन् । पसल छन् तर विक्रेता छैनन् । होटल छन् तर खाली देखिन्छन् । गाउँबाट फर्कने क्रममा, मैले एक महिलालाई भेटेँ । सायद भाषाको समस्याका कारण हामीबीच संवाद भने स्थापित हुन सकेन । यहाँसम्म गाडीबाट आउन सकिन्छ तर यहाँबाट तिलचोसम्मको यात्रा भने पैदल नै गर्नुपर्छ । यसपटकलाई हाम्रो अन्तिम गन्तव्य यहीँसम्म थियो । तिलिचो जाने हाम्रो योजना थिएन, त्यसैले हामी त्यहीँबाट फर्कियौँ । यो गाउँमा पुग्दा मुन्नीको उत्साह अलि बेग्लै रहेको अनुभव गरेँ । म त कोरोला (४ हजार ६०० मि.)सम्म पुगेको छु । लोमान्थाङ (३ हजार ८५० मि.)मा रात बिताएको छु, तर सप्तरीको तिलाठी गाउँ (६४ मि.) की मुन्नीको यति उचाइको गाउँको यात्रा भने पहिलो थियो । उनले त्यहाँको ग्रामीण संरचनाको पर्याप्त जानकारी लिने प्रयत्न गरेकी थिइन् ।
खाङसाबाट फर्कैंदै गर्दा हामीले तिलिचो जाँदै गरेका जर्मनका एक युगल जोडीलाई भेटेका थियौँ । उनीहरूसँग केही समय बात मारियो । उनीहरू अत्यन्तै उत्साहित र खुसी थिए । उनीहरू भन्दै थिए – हामी अहिले ३ हजार ८०० मिटरमा छौँ । हाम्रो देशको सर्वोच्च पहाडको उचाइ जम्मा २ हजार ९०० मिटर हो । यस आधारमा हामी त निकै उचाइमा छौँ र अझै उचाइतर्फ गइरहेका छौँ । यति भनिरहँदा उनीहरूको अनुहारमा विशेष मुस्कान देखिन्थ्यो जसमा सन्तुष्टिको प्रभाव उत्कर्षमा पुगेको अनुभूत गर्न सकिन्थ्यो ।

मनाङ गाउँमा खाइयो कोदोको रोटी
हावाको वेग तीव्र भइरहेकाले त्यहाँ धेरेबेर अडिन सकिने अवस्था थिएन । हामी त्यहाँबाट फिर्ता भयौँ र लाग्यौँ मनाङ गाउँतिर । मनाङ पुग्दा करिब ४ बजेको थियो । त्यहाँ हामीले एउटा होटेलमा कोदोको रोटी, आलुको तरकारी र कफी खायौँ । तल गंगापूर्ण ताल देखिइरहेको थियो । अन्नपूर्ण चौथो र गंगापूर्ण हिमालको फेदमा हिमनदी पग्लिएर बनेको यो ताल पर्यटकको रोजाइमा पर्ने गरेको कुरा स्थानीय टाइगर भनेर चिनिने सगर गुरुङले बताए । गाउँमा सायद मानिसको अभाव छ तर मैले होटलमा भिड देखेँ । तिनीहरूमध्ये धेरैजसो पर्यटक थिए । अन्नपूर्ण मार्गमा पदयात्रा गर्ने पर्यटकका लागि एक रात बिताउने चर्चित गन्तव्य हो यो गाउँ । उपल्लो मनाङको सबैभन्दा ठुलो र बढी आवादी भएको यही गाउँका नामको आधारमा जिल्लाको नामकरण गरिएको कुरा अन्नपूर्ण संरक्षण क्षेत्र योजना (एक्याप)का ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा यो गाउँ पर्यटकका लागि ‘हब’का रूपमा स्थापित भएको छ । गाउँ घुम्दै जाँदा बीचमा एउटा मैदानजस्तो भाग छ ।
त्यसबारे जिज्ञासा राख्दा टाइगरले भने यहाँ मेला लाग्ने गर्छ । उनका अनुसार वैशाखको पहिलो सातामा यहाँ मेथा भन्ने पर्वको आयोजना हुन्छ । यस्तै असारको पहिलो सातामा यार्तोङ र ने भन्ने जात्राको आयोजना हुने गर्दछ । टाइगरका अनुसार यार्तोङ दुबै घोडेजात्रा हो । यी ३ वटै पर्वका अवसरमा यहाँ मेला लाग्छ, जहाँ घोडाहरू प्रदर्शित हुन्छन् । उनका अनुसार घोडा यस क्षेत्रका वासिन्दाका लागि आर्थिक गतिविधिको ठुलो आधार हो । करिबकरिब यहाँका प्रत्येक घरमा घोडा छन् । यहाँको सभ्यताका बारेमा जानकारी दिँदै टाइगरले नावल र ध्यारूका बीचमा घले दरवारको भग्नावशेष रहेको बताए । उनले भने, ‘यस आधारमा भन्न सकिन्छ यहाँको सभ्यता धेरै पुरानो हो र यस क्षेत्रमा विगतमा स्वतन्त्र राज्यको उपस्थिति थियो ।’ भुजेलले यहाँको ऐतिहासिकताबारे जानकारी दिने प्रयत्न गरे – मनाङ गाउँको इतिहास व्यापारसँग जोडिएको छ । सातौँ शताब्दीतिर तिब्बतसँगको नुन र ऊनको व्यापारका लागि यो मुख्य केन्द्र मानिन्थ्यो । स्थानीयका अनुसार विगतमा राजा महेन्द्रको पालामा मनाङीलाई राहदानी र व्यापारमा विशेष छुट दिइएपछि यहाँका मानिस अन्तर्राष्ट्रिय व्यापारमा संलग्न हुन थालेका हुन् । शिक्षिका नीला गिरीका अनुसार यहाँ धेरै पुराना गुम्बा छन् । उनले भनिन, ‘यो गाउँ गुम्बाका कारण पनि प्रसिद्ध छ ।’
हामी मनाङबाट लगभग साढे ५ बजे निस्कियौँ । साँझ परिसकेको थियो । सूर्य अस्ताचलतर्फ अग्रसर थियो । चिसोसँगै हाम्रो गाडी पनि अगाडि बढ्दै थियो । खाङसारसम्मको यात्रा सामान्य यात्रा मात्र होइन, यो त ‘मस्र्याङ्दी’को सुसेली र हिमालको काखमा हराउने एक आध्यात्मिक अनुभव पनि हो । मलाई लाग्दछ, चामेदेखि खाङसारसम्मको यात्रा केवल उचाइको आरोहण मात्र होइन, बरु मानिसको धैर्य र प्रकृतिको भव्यतासँगको साक्षात्कार पनि हो ।





