महोत्तरी –महोत्तरीको जलेश्वर–बर्दिवास सडक खण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ गेना बथनहामा आज भएको भीषण सवारी दुर्घटनामा तीन जनाको घटनास्थलमै जलेर मृत्यु भएको छ।
दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनापछि आगलागीसमेत हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेका थिए। आगलागीका कारण सवार तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।



मृत्यु हुनेहरूमा जलेश्वर नगरपालिका–६ का सुभाष दास, सोही स्थानका रवि दास र एकडारा गाउँपालिका–३ अजमरपट्टीका अभिशेष मण्डल रहेका छन्।

दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ का रोहित दास, जयकुमार महतो र अभय कापर रहेका छन्। महतो र कापरको ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
प्रहरीका अनुसार दुवै मोटरसाइकलमा गरी छ जना सवार थिए। तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। एसइई परीक्षा दिएर घर फर्कने क्रममा उनीहरू दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
मृतकहरूको शव पोस्टमार्टमका लागि जलेश्वरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।




