जलेश्वर,महोत्तरी — प्रादेशिक अस्पताल जलेश्वरको अध्यक्ष नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै स्थानीय सरोकारवालाहरूले उक्त निर्णय खारेज गर्न माग गरेका छन्।

आकाश कुमार साहको नेतृत्वमा स्थानीय युवा, जनप्रतिनिधि, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित टोलीले आज मधेश प्रदेशका स्वास्थ्य मन्त्री, महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा प्रादेशिक अस्पताल जलेश्वरका कार्यालय प्रमुखलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा अध्यक्ष नियुक्ति प्रक्रिया राजनीतिक हस्तक्षेपपूर्ण भएको आरोप लगाउँदै तत्काल निर्णय खारेज गरी योग्य तथा स्थानीय विज्ञ व्यक्तिलाई नियुक्त गर्न माग गरिएको छ।




ज्ञापनपत्र बुझाउँदै टोलीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राजनीतिक प्रभाव अस्वीकार्य रहेको उल्लेख गर्दै पारदर्शी र योग्यतामा आधारित नियुक्ति हुनुपर्नेमा जोड दिएको छ।टोलीका नेतृत्वकर्ता आकाश कुमार साहले “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गरिएको राजनीतिक हस्तक्षेप स्वीकार्य हुन सक्दैन, यसलाई तत्काल सच्याउनुपर्छ,” भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।

उहाँले माग सम्बोधन नभए चरणबद्ध रूपमा कडा आन्दोलनका कार्यक्रम अगाडि बढाइने चेतावनी दिनुभयो।






