धनुषा- धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव आइतबार बिहान फेला परेको छ।
गत चैत २८ गते टोडकीटोलस्थित खोलामा पौडी खेल्दा डुबेर बेपत्ता भएका जनकपुरधाम उपमहानगरपालिका–६ निवासी १८ वर्षीय महमद आयन कमडको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो।



घटनापछि सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस रघुनाथपुर तथा प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले तत्कालै खोजी कार्य सुरु गरेको थियो। प्रारम्भिक प्रयासबाट युवकलाई फेला पार्न नसकेपछि सशस्त्र प्रहरीको विशेष गोताखोर टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरीका अनुसार गोताखोर टोलीले खोजतलासका क्रममा घटनास्थलबाट करिब ४० मिटर तल, झन्डै ४० मिटर गहिराइबाट शव बाहिर निकालेको हो।
मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




