विजयकुमार साह,ढल्केबर-पूर्वपश्चिम लोकमार्गअन्तर्गत पर्ने धनुषाको ढल्केबर क्षेत्रमा यतिखेर गर्मी मौसमसँगै तरबुजाको व्यापार उल्लेख्य रूपमा फस्टाएको छ ।
गर्मी याममा निकै लाभदायी मानिएकाले तरबुजाको व्यापार यहाँ निकै फस्टाएको हो । पूर्वपश्चिम तथा मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वार ढल्केबरमा अहिले तरबुजा व्यापार बढेसँगै पसलको सङ्ख्या समेत बढेको छ ।



स्थानीय व्यापारीले दुई दर्जनभन्दा बढी स्थानमा अस्थायी टहरा निर्माण गरी तरबुजा बिक्री केन्द्र सञ्चालन गरेका छन् । ती पसलमा दैनिक रूपमा लोकमार्ग हुँदै आवतजावत गर्ने बस तथा निजी सवारीका यात्रुका साथै स्थानीय उपभोक्ताको उल्लेख्य भिड लाग्ने गरेको छ ।
व्यापारीका अनुसार ढल्केबरमा अहिले दैनिक १० लाख रुपियाँभन्दा बढीको तरबुजा कारोबार भइरहेको छ । गर्मीमा चिसोपन दिने फलका रूपमा लोकप्रिय तरबुजाको माग उच्च भएकाले व्यापारमा उत्साह थपिएको उहाँको भनाइ छ ।
यहाँबाट बिक्री हुने अधिकांश तरबुजा भने भारतका विभिन्न सहरबाट आयात गर्ने गरिएको व्यापारी घुरन दासले बताउनुभयो ।उडिसा, कलकत्ता र सिलिगुडीलगायतका स्थानबाट तरबुजा ढुवानी गरी ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय उत्पादन वैशाख महिनाको दोस्रो वा तेस्रो सातापछि मात्र बजारमा आउने भएकाले ग्राहकको माग पूर्ति गर्न भारतबाट आयात गर्नुपरेको उहाँको भनाइ छ ।
ढल्केबरमा तरबुजा प्रतिकिलो ५० देखि ६० रुपियाँसम्ममा बिक्री भइरहेको छ भने काटेर तयार पारिएको तरबुजा (चना) २० देखि २५ रुपियाँमा बिक्री हुने गरेको छ ।स्थानीय तरबुजा व्यापारी बैधनाथ चौधरीका अनुसार भारतबाट तरबुजा ल्याउँदा खरिद मूल्यबाहेक ढुवानीमै चारदेखि पाँच लाख रुपियाँसम्म खर्च हुने गरेको छ ।
जसका कारण स्थानीय उत्पादनको तुलनामा आयातित तरबुजा केही महङ्गो हुन गएको छ ।धनुषाको कमला नदी आसपासका गाउँमा पनि तरबुजा उत्पादन हुने गरे पनि समयमै उत्पादन नआउँदा बजार माग धान्न कठिन हुने गरेको व्यापारी चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ग्राहकको माग धान्नका लागि भारतबाट आयात नगरी विकल्प छैन ।” एक दशकदेखि तरबुजाको मौसमी व्यापार गर्दै आउनुभएका अर्का व्यापारी रामकुमार महतोले ढल्केबर अहिले तरबुजाको प्रमुख थोक केन्द्रकै रूपमा विकास हुँदै गएको बताउनुभयो ।
उहाँले जनकपुर, वीरगञ्ज, काठमाडौँ र पोखरा लगायतका सहरबाट व्यापारी तथा खुद्रा ग्राहक यहाँ आएर तरबुजा खरिद गरी लैजाने गरेको जानकारी दिनुभयो ।




