नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा आयोजना हुने मेलामा भारतीय श्रद्धालुहरूको आगमन सुरु भएको छ। मेला सुरु हुनुभन्दा दुई दिनअगावै भक्तजनहरूको चहलपहल बढ्न थालेको हो।
लहान नगरपालिका–१२ र २२ मा अवस्थित सलहेश फूलबारीमा नयाँ वर्षको दिन मात्र फुल्ने विश्वास गरिने माला आकारको सुनाखरी फूल अवलोकन तथा पूजाअर्चनाका लागि नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु आउने गर्छन्।



मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार मन्दिरअगाडि रहेको हारमको रूखमा यस वर्ष पनि सुनाखरी फूल फुल्न सुरु भएको छ, तर पूर्ण रूपमा फक्रिन बाँकी छ। करिब नौ बिघा क्षेत्रफलमा फैलिएको फूलबारीमा अहिले नै भक्तजनहरूको भीड बढ्न थालेको छ।
श्रद्धालुहरू दिनरात परिसरका रूखमुनि पाल टाँगेर बसिरहेका छन्। बढ्दो भीडसँगै पूर्वाधारको अभाव देखिएको स्थानीयहरूले बताएका छन्। स्थानीय वीरेन्द्र चौधरीका अनुसार श्रद्धालुका लागि व्यवस्थित धर्मशालाको आवश्यकता रहेको छ।
लोकगाथाअनुसार महिषोथा (सिरहा) मा जन्मिएका लोकनायक राजा सलहेशको प्रेमस्थलका रूपमा यो फूलबारीलाई लिइन्छ। राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा सुनाखरी फूललाई मानिन्छ।
चौथो शताब्दीका लोकनायक राजा सलहेशको वीरता, साहस र प्रेमसँग सम्बन्धित गाथाको स्मरणमा प्रत्येक वर्ष वैशाख १ गते यहाँ मेला आयोजना गरिन्छ। तराई क्षेत्रमा पासवान समुदायका इष्टदेव मानिने सलहेशको पूजा गर्दा सन्तान प्राप्ति तथा विभिन्न रोगबाट मुक्ति पाइने जनविश्वास रहेको छ।
सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा समावेश गरे पनि ठोस विकास हुन नसकेको सरोकारवालाहरू बताउँछन्। जिल्ला उद्योग वाणिज्य संघ सिरहा र लहानका अध्यक्ष प्रदीपकुमार गुप्ताका अनुसार तीनै तहका सरकार तथा सरोकारवाला निकायले एकीकृत गुरुयोजना बनाएर काम गरे यस क्षेत्रलाई अझ आकर्षक धार्मिक पर्यटन केन्द्र बनाउन सकिनेछ।




