गौशाला,महोत्तरी – महोत्तरीको बर्दिबासमा “आदिवासी जनजाति महोत्सवको पाँचौं संस्करण २०८३” आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद महोत्तरीको आयोजनामा हुन लागेको पाँचौँ आदिवासी जनजाति महोत्सवले परम्परा, पहिचान र मनोरञ्जनलाई एउटै थलोमा समेट्ने प्रयास गरेको छ। वैशाख ११ गतेदेखि सुरु भई वैशाख २५ गतेसम्म सञ्चालन हुने यो महोत्सव केवल एक सांस्कृतिक कार्यक्रम मात्र होइन, विविधताभित्रको एकताको जीवन्त उदाहरण बन्ने अपेक्षा गरिएको परिषद महोत्तरीका अध्यक्ष धननाराय श्रेष्ठले बताउनुभयो ।
यस महोत्सवमा मगर, तामाङ, थारु, बनुबार, भुजेल, राई, नेवार, मण्डल, माझी र गुरुङ लगायतका समुदायहरूको भेषभूषा, खानपान, नृत्य, गीत र हस्तकलाको प्रदर्शन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सव स्थलमा १५० स्टलमध्ये धेरैजसो स्टल स्थानीय कृषि तथा औद्योगिक उत्पादनका लागि निःशुल्क र स्थानीय व्यापारीहरूलाई २० प्रतिशत छुटमा उपलब्ध गराइने आयोजकले जनाएको छ। करिब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको यो महोत्सव बर्दिबासकै मात्र होइन, समग्र मधेस प्रदेशकै महत्वपूर्ण सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ। महोत्सवबाट करिब ४० लाख आम्दानी र ३५ लाख खर्च हुने अनुमान गरिएको छ।



बचत रकम जनजाति समुदायको उत्थान तथा सामाजिक क्षेत्रमा खर्च गर्ने योजना आयोजकले बनाएको छ। दर्शकलाई आकर्षित गर्न स्थानीय कला संस्कृतिका प्रस्तुति मात्र नभई राष्ट्रिय स्तरका कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ। विशेषगरी युवापुस्ताका लागि लन्डन ब्रिज, आइफिल टावर,बाल उद्यान जस्ता मनोरञ्जनात्मक संरचनाहरू तयार गरिने आयोजकले जनाएको छ। महोत्सवको प्रवेश शुल्क प्रति व्यक्ति ८० रुपैयाँ तोकिएको छ भने शनिबार विद्यार्थीलाई ५० प्रतिशत छुट र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परीचय खुल्ने परीचयपत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
यसले सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्ने प्रयास गरेको देखिन्छ। महोत्सबमा सुरक्षा र व्यवस्थापनलाई बिशेष ध्यानमा राख्दै सुरक्षा निकायसँग समन्वय गरी स्वयंसेवक समेत परिचालन गर्ने तयारी पनि गरिएको छ। आयोजकले महोत्सवलाई सफल बनाउन स्थानीयवासी, राजनीतिक दल, व्यापारी, बुद्धिजीवी, सञ्चारकर्मी लगायत सम्पूर्ण सरोकारवालासँग सहकार्यका लागि अपिल गरेको छ।




