महोत्तरी – जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पुमाथि अचानक रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वरस्थित नेपाली सेनाको ब्यारेक नजिकै सडक किनारमा रहेको रुख एक्कासी ढल्दा गुडिरहेको टेम्पुमाथि खसेको हो। दुर्घटनापछि टेम्पु पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुने व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको छ। घाइते तीन जनालाई तत्काल उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ, जसमा केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनापछि स्थानीयवासी, प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।



यसैबीच स्थानीयले सडक छेउका जोखिमपूर्ण रुखहरूको समयमै व्यवस्थापन नगर्दा यस्ता घटना दोहोरिने गरेको गुनासो गरेका छन्।







