महोत्तरी – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा रहेको प्रसिद्ध दुर्गा मन्दिर परिसर पछिल्लो समय सवारी साधन पार्किङस्थलका रूपमा प्रयोग हुन थालेपछि यसको संरक्षण र पवित्रतामाथि प्रश्न उठ्न थालेको छ। बजारको केन्द्रभागमा अवस्थित उक्त धार्मिक स्थलमा मोटरसाइकल तथा साइकल पार्किङ गर्ने क्रम बढ्दै गएको स्थानीयले बताएका छन्।
केही दिनअघि बजार सरसफाइ गरिए पनि व्यापारी तथा सेवाग्राहीले मन्दिर परिसरमै सवारी साधन राख्ने कार्य भने निरन्तर भइरहेको जनाइएको छ। स्थानीयवासीका अनुसार यसले धार्मिक स्थलको गरिमा घटाउनुका साथै बजार व्यवस्थापनसमेत अव्यवस्थित बन्दै गएको संकेत गरेको छ। मन्दिर परिसरमा अनियन्त्रित रूपमा सवारी प्रवेश हुँदा श्रद्धालुहरूलाई समेत असहजता हुने गरेको गुनासो छ।




बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष ओमप्रकाश गुप्ताले आवश्यक निगरानी र स्पष्ट व्यवस्थापनको अभाव हुँदा यस्तो अवस्था सिर्जना भएको स्थानीय व्यापारीको भनाइ छ। उनीहरूले मन्दिर क्षेत्र संरक्षणका लागि ठोस नियम र कडाइका साथ कार्यान्वयन हुनुपर्ने माग गरेका छन्। गौशाला नगरपालिकाले मन्दिर सुरक्षाका लागि ताल्चा उपलब्ध गराए पनि अज्ञात व्यक्तिले ताल्चा फोडेपछि सवारी साधन सहजै प्रवेश गर्न थालेको नगर स्रोतले जनाएको छ। जन्जिर प्रयोग गरी थप सुरक्षा गर्ने योजना भए पनि ताल्चा तोडिएको घटनापछि मन्दिरको सुरक्षा अवस्था कमजोर बन्दै गएको स्वीकार गरिएको छ।

यस विषयमा गौशाला नगर युवा सञ्जालका अध्यक्ष भरत महतो कोईरीले कडा प्रतिक्रिया दिँदै भन्नुभयो, “धार्मिक आस्थाको केन्द्रलाई पार्किङस्थल बनाउनु केवल गैरजिम्मेवार कार्य मात्र होइन, यो सीधा धार्मिक स्थलमाथिको अपमान हो।नगरपालिकाको लापरवाही र नगर प्रहरीको निष्क्रियताकै कारण यस्तो अवस्था सिर्जना भएको हो। नगर प्रहरी नाम मात्रको भएर बसेको छ, फिल्डमा कुनै प्रभावकारी भूमिका देखिएको छैन। यदि नगरपालिकाले तुरुन्तै कडाइका साथ निगरानी र व्यवस्थापन नगर्ने हो भने हामी बाध्य भएर सडक आन्दोलनदेखि लिएर कडा दबाबमूलक कार्यक्रम सञ्चालन गर्नेछौं।”

यसैगरी, गौशाला उद्योग वाणिज्य संघका उपाध्यक्ष देवचन्द्र महतोले मन्दिर जस्तो संवेदनशील स्थानमा सवारी पार्किङ हुनु उपयुक्त नभएको बताउनुभयो। बजार व्यवस्थापनका लागि छुट्टै पार्किङस्थलको व्यवस्था गर्न सम्बन्धित निकायलाई उहाँले आग्रह गर्नुभयो। स्थानीयवासीले मन्दिरको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

उनीहरूले धार्मिक आस्थासँग जोडिएको स्थललाई पार्किङस्थलका रूपमा प्रयोग हुन नदिन प्रभावकारी नियमन र दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन्।








