महोत्तरी – सेवाग्राहीको कामलाई सहज बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय महोत्तरीले नयाँ व्यवस्था लागू गरेको छ । अब राहदानी बनाउने सेवाग्राहीले आफ्नो घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत बुँदा नं. २७ कार्यान्वयन गर्दै उक्त सेवा सुरु गरिएको हो ।




कार्यालयका अनुसार बैशाख १० गतेदेखि लागू हुने गरी राहदानीका लागि आवेदन दिँदा उल्लेख गरिएको ठेगानामा नेपाल हुलाक सेवा मार्फत राहदानी पु¥याइने व्यवस्था मिलाइएको छ ।
यसअघि राहदानी लिन सेवाग्राही स्वयं कार्यालय धाउनुपर्ने बाध्यता रहेकामा नयाँ व्यवस्थाले समय, खर्च र झन्झट कम हुने विश्वास गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका नागरिकलाई यसले ठूलो सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कार्यालयले सेवाग्राहीलाई आवेदन फाराम भर्दा आफ्नो ठेगाना स्पष्ट र सही रूपमा उल्लेख गर्न आग्रह गरेको छ ।







