महोत्तरी – देशका विभिन्न स्थानमा देखिएको एलपी ग्यास अभावसँगै महोत्तरीको गौशाला नगरपालिकामा विद्युतीय चुल्हो (इन्डक्सन) को माग उल्लेखनीय रूपमा बढेको छ। गौशाला नगरपालिका–५ स्थित गौशाला बजारका इलेक्ट्रोनिक्स पसलहरूमा विभिन्न ब्रान्डका इन्डक्सन चुल्होहरू उपभोक्ताको रोजाइमा परेका छन्। ग्यासको अनियमित आपूर्ति, मूल्यवृद्धि तथा वैकल्पिक ऊर्जाको खोजीका कारण उपभोक्ताहरू विद्युतीय चुल्होतर्फ आकर्षित भएको व्यवसायीहरूले बताएका छन्।

स्थानीय व्यापारीका अनुसार खाडी क्षेत्रमा देखिएको तनावअघि महिनामा मुस्किलले एक–दुईवटा मात्र बिक्री हुने इन्डक्सन चुल्हो अहिले महिनामा एक सयभन्दा बढी बिक्री हुन थालेको छ। ग्यास अभाव र आपूर्तिमा देखिएको अस्थिरताका कारण गृहिणीहरू समेत यसको प्रयोगतर्फ आकर्षित भएपछि बजारमा कारोबार ह्वात्तै बढेको हो। गौशाला बजारकी व्यवसायी सिता महतोले ग्यास आपूर्ति अनियमित भएपछि ग्राहकहरू वैकल्पिक उपायका रूपमा इन्डक्सन चुल्हो रोज्न थालेको बताइन्। “अहिले दैनिक रूपमा इन्डक्सन चुल्हो बिक्री भइरहेको छ, माग निकै बढेको छ,” उनले भनिन्। उनले विद्युत आपूर्ति नियमित भए विद्युतीय चुल्हो दीर्घकालीन रूपमा उपयोगी विकल्प बन्न सक्ने उल्लेख गरिन्।




उपभोक्ताहरूले विद्युतीय चुल्होलाई सुरक्षित, छिटो र अपेक्षाकृत सस्तो विकल्पका रूपमा लिन थालेका छन्। गौशाला नगरपालिका–१० का मनिक लाल महतोले ग्यास अभावका कारण इन्डक्सन चुल्हो प्रयोग गर्न थालेको बताए। “सुरुमा अलि अप्ठ्यारो भयो, तर अहिले बानी परिसकेको छ,” उनले भने। यसैबीच, गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले ग्यास अभावले उपभोक्ता तथा व्यवसाय दुवै प्रभावित भएको बताए। उनले आपूर्तिमा देखिएको समस्याले बजारमा विद्युतीय उपकरणको माग बढाएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि ग्यास आपूर्ति सहज र नियमित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

साथै, विद्युत आपूर्तिलाई भरपर्दो बनाउनुपर्नेमा उनले जोड दिए। यसअघि महोत्तरीको औरही नगरपालिकाले २०८० साल साउनमा वडा नम्बर २ स्थित चेपकटका विपन्न मुसहर बस्तीका ८८ घरपरिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको थियो। उक्त कार्यक्रम नगर प्रमुख प्रदीप कुमार खड्काको पहलमा सम्पन्न भएको थियो। नगर प्रमुख खड्काले ग्यास अभावका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको उल्लेख गर्दै वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए। स्थानीय तह तथा सरोकारवालाहरूले स्वच्छ ऊर्जा तथा वैकल्पिक प्रविधिको प्रयोग विस्तार गर्दै ऊर्जा संकट समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्।

ग्यास आपूर्तिमा सुधार नआए आगामी दिनमा विद्युतीय चुल्होको माग अझै बढ्ने अनुमान व्यवसायीहरूले गरेका छन्।




