महोत्तरी – महोत्तरी जिल्लामा मोटरसाइकलको ठक्करबाट एक अज्ञात महिलाको मृत्यु भएको दुई दिन बितिसक्दा पनि उनको पहिचान खुल्न सकेको छैन। पहिचान नखुल्दा मृतकको पोष्टमार्टम प्रक्रिया समेत अघि बढ्न नसकेको प्रहरीले जनाएको छ।

बर्दिबास–जलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर नगरपालिका–१ मा बुधबार साँझ भएको दुर्घटनामा करिब ५५ वर्षीया अज्ञात महिलाको ज्यान गएको हो।




जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबासतर्फबाट जलेश्वरतर्फ तीव्र गतिमा आइरहेको ज.१२ प ५५५ नम्बरको पल्सर मोटरसाइकलले ती महिलालाई ठक्कर दिएको थियो। टेम्पोबाट जलेश्वरमा ओर्लिएर सडकमा हिँडिरहेकी अवस्थामा उनी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थिइन्।

घाइते महिलालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। बुधबार रातभर शव अस्पतालको इमर्जेन्सी कक्षमा राखिएको र बिहीबार बिहान पोष्टमार्टमका लागि तयारी गरिएको भए पनि पहिचान नखुलेपछि प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार मृतकको पहिचान खुलाउन आवश्यक प्रयास भइरहेको छ।
प्रहरीले मृतकको तस्बिर सार्वजनिक गर्दै पहिचान गर्न सहयोग गर्न सबैमा आग्रह गरेको छ। शव पहिचान भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय महोत्तरीको ९८५४०३२४५५, ९८५४०३००९९ वा १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।





