जनकपुरधाम – विश्व सम्पदाको सूचीमा सूचिकृतको बहस चलिरहेको बेला गत मङ्गलवार जानकी मन्दिर परिसरभित्र पार्किङ गरी राखिएका गाडीहरूमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाइ दिए । ह्विल लक गरिएका गाडी थिए, जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको । मन्दिर परिसरमा गाडीहरू पार्किङ गरेर राखिएको गुनासो आएपछि हामीले ती गाडीमा ‘ह्विल लक’ गरिएको ट्राफिक प्रहरी धनुषा प्रमुख सुर्य बहादुर शाहीले प्रतिक्रिया दिए ।
ट्राफिकले गाडीमा ह्विल लक गरे लगत्तै धनुषा निर्वाचन क्षेत्र–३ बाट निर्वाचित रास्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले ह्विल लक गरिएका गाडीको फोटो आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राख्दै ती गाडीहरूमा लक गलाउन आफूले नै ट्राफिक प्रहरीलाई अनुरोध गरेको जानकारी दिए ।




उनले लेखेका छन्, ‘जानकी मन्दिर विश्वको सम्पदा हो, पार्किङ स्थल हैन् । यस प्राङ्गण भित्र पार्किङ गरेर राखिएको सबै सवारीसाधनमा लक लगाउन ट्राफिक प्रहरीलाई अनुरोध गरेको छु । ताकी आइन्दा यो हेलचेक्राइ न होस । यसमा अनुशासन आवश्यक छ । विश्व सम्पदा सूचिमा सूचिकृत गराउने, जानकी मन्दिरलनई ट्रस्टमा लाने पहल भइरहेको बेलामा यस्तोमा न्यूनतम अनुशासन नभएसम्म हुँदैन् । सबैलाई जनकपुरधाम र धरोहरहरुलाई माया र संरक्षण गर्न अनुरोध छ ।’ उनको उक्त पोस्ट पछि सबैले थाहा पाए सांसद झाकै निर्देशनमा प्रहरीले गाडीमा ह्विल लक गरेका थिए ।

जानकी मन्दिरमा गाडी पार्किङ गरी राखिएको विषय कुनै नौलो थिएन् । मङ्गलवार जहाँ गाडी राखिएको थियो, त्यहाँ पहिलेदेखि छोटे महन्त रामरोशन दास र बाहिरबाट आउने सन्तहरूले गाडी राख्ने गरेका थिए । तर, त्यो दिन सांसद झाकै निर्देशनमा महन्तको गाडीमा ट्राफिक प्रहरीले लक मात्रै लगाएन्, पाँच सयको जरिवाना गर्दै त्यहाँबाट गाडी हटाउन लगाएका थिए ।
उक्त घटनाबारे बुझ्नका लागि नागरिक मिरर बुधवार जानकी मन्दिर पुगेको थियो । यस विषयमा मन्दिरका छोटे महन्त रामरोशन दासलाई भेटेर बुझ्न खोज्दा उनले कुनै प्रतिक्रिया दिएनन् । तर, जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले यस विषयमा अहिले कुनै प्रतिक्रिया नदिने भन्दै केही दिनमा पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने बताए ।

महन्त रामतपेश्वर दासले अनौपचारिक रुपमा कुराकानी गर्दै भने, ‘सांसद मनिष झाको निर्देशनमा मन्दिर परिसरमा आएर ट्राफिक प्रहरीले रोशनको गाडीमा लक गरेको र जरिवाना गरेको छु । ट्राफिकले पहिला तपाईं गाडी हटाउनका लागि पूर्व जानकारी गराउनुपथ्र्यो । तर, एकाएक आएर गाडी लक गरेछ । जानकी मन्दिरको वरिपरि खुल्लमखुल्ला मदिरा तथा मासुजन्य पदार्थ बिक्रीवितरण भइरहेको छ । त्यसततर्फ सांसद झाको आँखाले देख्दैन । तर, गाडी देखेछ ।’
उनले यस विषयमा आफू पहिला सांसद झासँग कुरा गर्ने र त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनि प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराउने बताए । उनले भने, ‘उहाँहरूको धारणा के छ त्यो बुझ्छु । उहाँहरूलाई यो सब उचित नै लाग्छ भने बालेन सरकारद्वारा साधुसन्त सेवा बन्द गरिएको बोर्ड नै मन्दिरको गेटमा लगाउँछु ।’
‘प्रधानमन्त्री विपी काइरालाको पालादेखि नै जानकी मन्दिरलाई ट्रस्टमा लैजाने कुरा सुन्दै आइरहेको छु’ महन्त दासले भने, ‘बृहतर जनकपुरका अध्यक्ष शीतल साहले पनि कार्यकाल सम्हालेको दुई महिनामै जानकी मन्दिरलाई ट्रस्टमा लैजाने कुरा गरेका थिए । तर, अहिलेसम्म लान सकेका छैन् । अब उनको कार्यकाल पनि दुई महिना मात्रै बाँकी छ ।’

‘पछिल्लो समय सांसद मनिष झाले पनि जानकी मन्दिरलाई ट्रस्टमा लैजाने कुरा गरिरहेका छन्’ आक्रोश पोख्दै महन्त दासले भने, ‘जुन दिन यो सरकारले जानकी मन्दिरलाई छुन्छ, त्यही दिन यो सरकार तीन टुक्रा हुन्छ ।
उनले भने, ‘जानकी मन्दिरलाई ट्रस्टमै लानु छ भने सेवामूलक ट्रस्टमा लानुपर्छ । अहिले बिहान चार बजे नै सन्तहरूलाई च्यूरा दही खुवाउनुपर्छ । ट्रस्टमा लग्यो भने कुन ट्रस्टबालाले बिहानै सन्तलाई खुवाउने काम गर्छ ? मन्दिर रहेको जग्गामा व्यक्तिले कब्जा गरी ठूला–ठूला घर बनाएको छ, त्यतातिर कसैको ध्यान छैन । जो पनि जानकी मन्दिरलाई ट्रस्टमा लैजाने कुरा मात्रै गरिरहेका छन् ।’




