काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य वृद्धि गरेको जनाएको छ ।

निगमद्वारा जारी सूचनाअनुसार शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल–मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले कमी गरिएको छ । समायोजनपश्चात् पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम गरिएको छ भने डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।




यता, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने वृद्धि गरिएको निगमले जनाएको छ । हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर सात रुपैयाँले बढाइएको छ । अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर अमेरिकी डलर ४६ ले मूल्य वृद्धि गरिएको छ ।

त्यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि गरिएको छ । समायोजनपछि अब ग्यासको मूल्य प्रति सिलिन्डर दुई हजार १६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।






