- सुजाता राई
विराटनगर । किराँत राई समुदायको महत्वपूर्ण उभौली पर्वअन्तर्गत साकेला पूजा तथा नाच विराटनगर–११ स्थित साकेन्वा साकेला थानमा सम्पन्न भएको छ।
मिति २०८३ साल वैशाख १८ गते बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म उभौली पूजा सञ्चालन गरिएको जनाइएको छ। पुजारी पञ्चराज वायुङ राईका अनुसार पूजाका क्रममा भाले–पोथी कुखुराको भोग चढाइन्छ। पूजामा चामलको अक्षता, अदुवा, माछाको सुकुटी, तितेपाते, फूल तथा जाँड–रक्सी प्रयोग गरिन्छ।




यसैगरी, साकेला नाच दिउँसो ११–१२ बजेदेखि सुरु भई बेलुका ४ बजेसम्म सञ्चालन गरिएको छ। विसं २०५८ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो नाचले किराँत संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

उक्त साकेन्वा थान २०६२ सालमा स्थापना गरिएको हो। चण्डी पूर्णिमाको अवसरमा मनाइने यो पर्व किराँत समुदायको परम्परागत संस्कारसँग जोडिएको छ, जसको इतिहास किराँतहरूको उत्पत्तिकालदेखि चल्दै आएको मानिन्छ।

थान स्थापना गर्न प्रारम्भमा मानबहादुर (मेजरमान)ले एक कठ्ठा जग्गा प्रदान गरेका थिए। पछि अन्य स्थानीयवासीको सहयोगमा हाल करिब ३–४ कठ्ठा क्षेत्रफलमा विस्तार भएको बताइएको छ।

उभौली पर्वको मुख्य उद्देश्य नयाँ खेतीपातीको शुभारम्भ गर्दै अन्नबाली राम्रो फलोस् भन्ने कामना गर्नु हो। यो पूजा तथा सांस्कृतिक कार्यक्रम महिनाभरि विभिन्न स्थानमा सञ्चालन हुने गर्दछ।

साकेला नाचमा किराँत राई समुदाय मात्र नभई विभिन्न जातजातिका स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहने गरेको छ। साकेलाको अवसरमा किराँत राई यायोख्खाका अध्यक्ष बिष्णु राईलगायत सम्पूर्ण टिमले कार्यक्रम आयोजना गरेका हुन्।








