जलेश्वर (महोत्तरी) – यहाँको बलवा नगरपालिकाको दुई वडामा दादुरा रोगको सङ्क्रमित फेला परेका छन्। बलवा-९ ध्रुवकुण्ड र बलवा –८ संरचियामा संक्रमण फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका खोप फोकल पर्सन रामबाबु यादवले धु्रवकुण्ड र संरचिया गाउँमा गत साता दादुरा संक्रमित फेला जानकारी दिए। दुवै बस्तीका बालबालिका ज्वरो आएर धमौरामा अवस्थित स्वास्थ्य चौकीमा जाँचका क्रममा सो रोग पुष्टि भएको हो । स्वास्थ्य चौकीका इञ्चार्ज सिअहेव सञ्जयकुमार साहले ती बालबालिकाहरूमा लक्षण देखेपछि तत्कालै स्वास्थ्य कार्यालयमा जानकारी गराएका थिए ।



बालबालिकाहरूको सेरम (दादुरा जाँचको लागि आवश्यक पर्ने रगत) परीक्षणको लागि जनकपुरस्थित प्रयोगशालामा पठाइएको थियो ।
सेरम जाँचपछि ती सबै बालबालिकामा पोजेटिभ चिह्न अर्थात् दादुरा रहेको पुष्टि भएको फोकल पर्सन यादवले बताए। दादुरा भएको पुष्टि भएसँगै यही वैशाख १५ गते बलवा नगरपालिकाको सङ्क्रमित बस्तीमा विश्व स्वास्थ्य संगठन धनुषा शाखा, मधेस प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय महोत्तरी, युनिसेफ र बलवा नगरपालिकाको स्वास्थ्य टोलीले संयुक्त रूपमा पुगेर घरघरमा जाँच गरेको छ । यसमा थप बालबालिकामा दादुरा फेला नपरेको फोकल पर्सन यादवले बताए।
संक्रमित बालबालिकाहरूमा दादुरा नियन्त्रणका लक्षणमा आधारित उपचार गरिएको छ । बलवा नगरपालिकाले नगर क्षेत्रका कुनै पनि खोप छुटेका बालबालिकाहरूका लागि यही वैशाख २८, २९ र ३० गते खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।








