धनुषा । ढल्केबर–जनकपुर खडक खण्ड अन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिका–४, सपहीचोकमा ढल्केबर–जनकपुर सडकखण्डअन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ स्थित सपहीचोकमा स्कारपियो गाडीको ठक्करबाट स्कुटी चालक एक महिलाको मृत्यु भएको छ।
शुक्रबार ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा.प्र. ०१–०३१ च. ९०६३ नम्बरको स्कारपियोले परीक्षणकालमा रहेको विद्युतीय स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्थानीय ३० वर्षीया पुनम साह गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा चिकित्सकले बाटो मै उनको मृत्यु भइसकेको घोषणा गरेका हुन्। मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।



इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवका अनुसार प्रहरीले स्कारपियो चालक विराटनगर महानगरपालिका–७ निवासी ५२ वर्षीय नरेश राठीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




