महोत्तरी – गौशाला नगरपालिका–४ रजखोरमा रामजानकी रजखोर युवा क्लबको कार्यालय उद्घाटन गरिएको छ । नगर प्रमुख डा. दिपेन्द्र महतो ले कार्यालय उद्घाटन गर्दै युवाहरूको सक्रियता समाज विकास र समुदाय सशक्तीकरणका लागि सकारात्मक भएको बताउनुभयो ।
उहाँले युवाहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढ्नु आवश्यक रहेको उल्लेख गर्दै यस्ता गतिविधिमा नगरपालिकाको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्लबका अध्यक्ष नरेश शाह ले संस्थाको प्रमुख उद्देश्य आगामी दिनमा वृद्धाश्रम सञ्चालन गर्नु रहेको बताउनुभयो । समाजसेवामूलक कार्यमार्फत असहाय तथा ज्येष्ठ नागरिकलाई सहयोग पुर्याउने लक्ष्य रहेको उहाँको भनाइ थियो ।




स्थानीय युवा दिपक साह ले युवाहरूको एकता र सक्रियताले गाउँमा सामाजिक तथा रचनात्मक कार्यलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । समाजसेवी बिन्देश्वर साह ले वृद्धाश्रम सञ्चालनजस्तो कार्यले समाजमा मानवता, सहयोग र सहानुभूतिको भावना अझ मजबुत बनाउने बताउनुभयो । पूर्व वडा अध्यक्ष रामबाबु साह ले युवाहरूको सामाजिक सहभागिता प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता अभियानले गाउँको समग्र विकासमा योगदान पुर्याउने धारणा राख्नुभयो ।

जग्गादाता दिनेश साह ले उक्त जग्गा प्रारम्भमा विद्यालय सञ्चालनका लागि उपलब्ध गराएको भए पनि पछि सो विद्यालय समायोजन भएपछि जग्गा अलपत्र परेको बताउनुभयो । उहाँले गाउँका युवाहरूले वृद्धाश्रम सञ्चालन गर्ने उद्देश्यसहित प्रयोग गर्ने प्रस्ताव ल्याएपछि नगर प्रमुखसँगको परामर्शमा रामजानकी रजखोर युवा क्लबलाई जग्गा उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले समाजहितका कार्यमा आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार निरन्जन साह ले आफ्नो गाउँमा युवाहरू सामाजिक कार्यमा सक्रिय हुनु गौरवको विषय भएको बताउनुभयो ।

उहाँले युवाहरूको यस्तो पहलले गाउँमा सकारात्मक सन्देश प्रवाह गर्ने र सामाजिक एकता मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष नवीन शाह, पूर्व वडा अध्यक्ष रामबाबु साह, क्लबका पदाधिकारी, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।





