बर्दिबास,महोत्तरी – सैनिक आवासीय महाविद्यालय, बर्दिबास–६, महोत्तरीको पाँचौँ वार्षिकोत्सवको विशेष अवसरमा मिति २०८३ साल ज्येष्ठ २ गते शनिबार श्री पञ्चधुरा माइस्थान मन्दिर, बर्दिबास -४ परिसरमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
महाविद्यालयका प्राचार्य श्री पुष्पो राय क्षेत्रीज्यू तथा प्रमुख व्यवस्थापकीय अधिकृत प्रमुख सेनानी सङ्गम अधिकारीज्यूको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा महाविद्यालयका शिक्षक, शिक्षिका, सैनिक गैर सैनिक कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।



कार्यक्रमका क्रममा मन्दिर परिसर वरपर रहेका विभिन्न प्रकारका फोहोरहरू संकलन गरी कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिएको थियो। सरसफाइका क्रममा झन्डै २० देखि २५ किलोग्रामसम्म कुहिने फोहोर तथा करिब १० देखि १२ किलोग्राम हाराहारीमा नकुहिने (प्लास्टिकजन्य) फोहोर संकलन गरिएको जानकारी दिइएको छ। सिसाजन्य फोहोर भने न्यून मात्रामा भेटिएको थियो।
कार्यक्रमका अवसरमा महाविद्यालयको तर्फबाट मन्दिर व्यवस्थापन समितिका सदस्यहरू तथा मन्दिरका पूजारीलाई मायाको चिनोसहित विभिन्न बिरुवाहरू समेत हस्तान्तरण गरिएको थियो।
वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व तथा सामुदायिक सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले सहभागीहरूमा सकारात्मक ऊर्जा तथा जनचेतना अभिवृद्धि गरेको विश्वास महाविद्यालयले लिएको छ।
सैनिक आवासीय महाविद्यालयले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।




