मंजित कुमार राम,साेनमा(महोत्तरी)— पुरुषोत्तम मास (मलमास) को अवसर पारेर महोत्तरीको सोनमा गाउँपालिका–५ खैरबनीस्थित रामजानकी गेरुका धाममा आइतबारदेखि गेरुका महाकुम्भ मेला सुरु हुने भएको छ।
रामजानकी गेरुका धाम मन्दिरका महन्त श्री बालक दासका अनुसार कन्तावाँ नदी र उत्तरवाहिनी नदीको संगमस्थलमा पूर्वकालदेखि नै गेरुका महाकुम्भ मेला लाग्दै आएको छ। मधेशकै प्राचीन तथा धार्मिक महत्व बोकेको गेरुका धाममा प्रत्येक तीन वर्षमा पुरुषोत्तम मासको अवसरमा विशेष मेला आयोजना गरिने परम्परा रहेको उहाँले बताउनुभयो।




यस वर्षको मेला जेठ ३ गतेदेखि सुरु भई पूरा महिनाभर सञ्चालन हुनेछ। विशेषगरी आइतबार र मंगलबार श्रद्धालु भक्तजनको बढी सहभागिता रहने जनाइएको छ। धार्मिक मान्यताअनुसार गेरुका धामको पवित्र जलाधारमा स्नान गरी भगवान पुरुषोत्तमको पूजा आराधना गरे अक्षय पुण्य प्राप्त हुने विश्वास रहेको छ।मेलामा नेटुवा नाच, कीर्तन, भजनलगायत मौलिक सांस्कृतिक कार्यक्रमका साथै विभिन्न खेल, तमासा, पिङ, झुला, सर्कस तथा व्यापारिक स्टलसमेत रहने आयोजकले जनाएको छ।

भारतीय सीमाबाट करिब एक किलोमिटर दूरीमा रहेको खैरबनी गेरुका मेला क्षेत्रमा हजारौँ भारतीय श्रद्धालु भक्तजनसमेत सहभागी हुने अपेक्षा गरिएको छ।मेलाको शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय खैरबनी, सशस्त्र प्रहरी बेसक्याम्प खैरबनी तथा नगर प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिनुभयो।





