बारा – बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ मा निर्माणाधीन सडक ढलानको भिडियो खिच्ने एक युवक कुटिएको आरोप लागेको छ ।वडा अध्यक्ष रामेश्वर प्रसाद साह कलवार ले स्थानीय दिपु कुमार महतो (दास)लाई बुधबार बिहान कुटपिट गरेको आरोप लागेको हो ।
मधेश प्रदेश सरकारको सशर्त अनुदानअन्तर्गत सिँचाइ नहरमा सडक ढलानको काम भइरहेको छ । उपभोक्ता समिति मार्फत सञ्चालन भइरहेको उक्त योजनाको गुणस्तर कमजोर रहेको तथा पानी निकासको व्यवस्था नगरी निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाउँदै आएका छन् ।




स्थानीय दिपु कुमार महतोले सडक ढलानको भिडियो खिचिरहेका बेला वडा अध्यक्ष कलवारले आफूमाथि हातपात गरेको बताउनुभयो । “ढलान भइरहेको भिडियो खिचिरहेको थिएँ, त्यही बेला वडा अध्यक्ष आएर भिडियो किन खिचेको भन्दै कुटपिट गर्नुभयो,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार कुटपिटका कारण बाँया कानमा समस्या भएको छ । घटनापछि वडा अध्यक्ष कलवार, उपभोक्ता समितिका अध्यक्ष राम पटेल तथा धुनु पटेलविरुद्ध कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय प्रसौनी मा निवेदन दिइएको जनाइएको छ ।

वडा अध्यक्ष कलवारले भने भिडियो नगर्न आग्रह गर्दा विवाद भएको बताउनुभयो । “भिडियो नगर्न भनेको थिएँ, तर अटेर गरेपछि विवाद भयो,” उहाँले भन्नुभयो ।
उहाँले प्रदेश सरकारले सुरुमा ३० लाख रुपियाँ बजेट दिने बताए पनि पछि २४ लाख रुपियाँ मात्र विनियोजन भएकाले सोहीअनुसार निर्माण कार्य भइरहेको जानकारी दिनुभयो ।





