महोत्तरी – महोत्तरीको सोनमा गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद सार्वजनिक भएको छ । पार्टीका गाउँपालिका सचिव अनिल कुमार यादवले संगठन विभाग प्रमुखसमक्ष लिखित निवेदन दर्ता गर्दै पालिका अधिवेशनमार्फत गठन गरिएको समितिप्रति असहमति जनाउनुभएको हो ।
यादवले मिति २०८३ जेठ ९ गते गाउँपालिकाबाट आह्वान गरिएको अधिवेशनमार्फत गठन गरिएको समिति एकलौटी ढङ्गले बनाइएको आरोप लगाउनुभएको छ । सम्बन्धित पदाधिकारीसँग आवश्यक छलफल, समन्वय तथा जानकारीबिनै समिति गठन गरिएको उहाँको भनाइ छ ।



उहाँले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा सहमति र प्रक्रियाविनै हस्तक्षेप गरिएको भन्दै उक्त निर्णयलाई मान्यता दिन नसकिने उल्लेख गर्नुभएको छ ।
यस्तो कार्यले संस्थागत मर्यादा, पारदर्शिता तथा पार्टीभित्रको आन्तरिक समन्वयमा नकारात्मक प्रभाव परेको पनि निवेदनमा जनाइएको छ ।यादवले तत्काल निर्णय पुनर्विचार गरी कानुनी प्रक्रिया तथा आपसी सहमतिका आधारमा पुनः निर्णय गर्न माग गर्नुभएको छ । अन्यथा, आफ्नो अधिकार क्षेत्रमाथि गरिएको हस्तक्षेप स्वीकार नगर्ने चेतावनीसमेत दिनुभएको छ ।
यस घटनापछि रास्वपा महोत्तरीभित्रको आन्तरिक राजनीति थप तातेको देखिएको छ । पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि नेतृत्व तहबाट आवश्यक पहल हुने अपेक्षा गरिएको छ ।




