महोत्तरी – नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले सरकारी सूचनाका कारण महोत्तरीको गौशाला नगरपालिका–५ का ३४ परिवार त्रासमा परेको बताएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गौशाला–५ का स्थानीय जनताको अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।



‘यो विषय केवल ३४ घरपरिवारको बसोबासको मात्र विषय होइन, यो संविधानले प्रत्याभूति गरेको नागरिकको गाँस, बास र कपासको अधिकार, मानवताको सम्मान, कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यताको विषय पनि हो,’ उनले भनिन्।
सांसद यादवले गौशाला नगरपालिका–५ स्थित बजार क्षेत्रमा २०२८ सालअघि स्थायी बजार नरहेको उल्लेख गर्दै त्यसअघि घुमन्ते प्रकृतिको बजार सञ्चालन हुने गरेको बताइन्। तत्कालीन स्थानीय पञ्चायती संरचना अन्तर्गत आदर्श गाउँ विकास समितिले बजार व्यवस्थापन, व्यापारिक गतिविधिको विस्तार तथा स्थानीय जनजीविकाको सहजताका लागि स्थानीय बासिन्दालाई जग्गा भोगचलनका लागि दिएको उनले स्मरण गरिन्।
त्यसयता निरन्तर बहाल असुली तथा कर संकलन हुँदै आएको र पक्की घर निर्माणका लागि समेत अनुमति प्रदान गरिएको उनले जानकारी दिइन्। रजिस्ट्रेसन तथा मालपोत प्रयोजनका लागि सिफारिससमेत दिइएको अवस्थामा सर्वोच्च अदालतको निर्णय विपरीत लोकतान्त्रिक मूल्य–मान्यताको उल्लङ्घन गर्दै बस्ती हटाउन खोजिएको उनको आरोप थियो।
‘बिहान–बेलुका सूचना टाँस गर्ने, डोजर चलाउने, चेतावनी दिने तथा परिवारलाई मानसिक तनाव दिने कार्यले स्थानीयवासी आतंकित भएका छन्,’ उनले भनिन्।
यस्तै मानसिक पीडा र त्रासका कारण ६२ वर्षीय बिनोद शाहको आइतबार बिहान हृदयघातबाट निधन भएको पनि उनले सदनलाई जानकारी दिइन्।
सांसद यादवले सरकारसँग गौशाला नगरपालिका–५ मा भइरहेको कथित “डोजर आतंक” तथा जबरजस्ती हटाउने कार्य तत्काल रोक्न माग गरेकी छन्।




