महोत्तरी,जलेश्वर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जलेश्वरको पहिलो नगर अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। महोत्तरी सदरमुकाम जलेश्वरमा बिहीबार आयोजित अधिवेशनले अजयकुमार चौधरी नेतृत्वको प्यानललाई सर्वसम्मत रूपमा चयन गर्दै नगर समिति गठन गरेको हो।
अधिवेशनबाट नगर सभापतिमा अजयकुमार चौधरी चयन भएका छन् भने उपसभापतिमा सुरेश ठाकुर, नगर सचिवमा पंकज पासवान र सहसचिवमा राजेश कुमार यादव चयन भएका छन्।त्यसैगरी सदस्यहरूमा शिव यादव, विल सिंह, राग्नी देवी पासवान, चन्दा ठाकुर पासवान, कमलेश कापर, रमेशचन्द्र चौधरी, रोशन महासेठ, धर्मेन्द्रकुमार दास र सैमुन खातुन सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
महोत्तरी क्षेत्र नं. ३ का क्षेत्रीय उपसभापति तथा अधिवेशन प्रतिनिधि सन्तोष साहका अनुसार अधिवेशन सर्वसम्मत वातावरणमा सम्पन्न भएको हो।




यद्यपि नवगठित नगर समितिलाई लिएर केही विवाद र असन्तुष्टि देखिएको थियो। केही पक्षले विरोध जनाए पनि अन्ततः बहुमत सदस्य तथा उम्मेदवारहरूको सहमतिमा समिति गठन गरिएको अधिवेशन प्रतिनिधि जानकी शर्माले बताइन्।
उनका अनुसार अधिवेशनमा ११ जनाले उम्मेदवारी दिएका थिए। प्रारम्भमा सर्वसम्मत सहमतिको प्रयास भए पनि पछि आठ जना उम्मेदवारले अजयकुमार चौधरीलाई समर्थन गरेपछि बहुमतको आधारमा समिति गठन गरिएको हो।

“बहुमत सदस्यहरूको सहमतिलाई सम्मान गर्दै नवगठित समितिलाई आधिकारिकता प्रदान गर्ने निर्णयमा पुगेका हौं,” शर्माले बताइन्।
रास्वपाले तोकेको मिति जेठ १७ भित्र अधिवेशन सम्पन्न गर्नुपर्ने समयसीमा रहेकाले प्रक्रियागत ढिलाइ नगरी सर्वसम्मत निर्णय गरिएको र अब समितिको आधिकारिकताका लागि अद्यावधिक प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिइन्।




