जनकपुरधाम — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि हुने महाधिवेशन नजिकिँदै जाँदा मधेस प्रदेशका अधिकांश पालिकामा आन्तरिक विवादका कारण अधिवेशन प्रभावित भएको छ। पार्टीको कार्यतालिका अनुसार जेठ १७ गतेभित्र पालिका अधिवेशन सम्पन्न गरिसक्नुपर्ने भए पनि विवादका कारण धेरै स्थानमा अधिवेशन हुन सकेको छैन।
मधेस प्रदेशका बारा, महोत्तरी र धनुषालगायत जिल्लामा नेतृत्व चयन र संगठन विस्तारलाई लिएर देखिएको मतभेदले अधिवेशन प्रक्रिया प्रभावित बनेको हो। पार्टीभित्र एकलौटी निर्णय, सक्रिय सदस्यहरूको बेवास्ता तथा नेतृत्व चयनको विधिलाई लिएर विभिन्न स्थानमा असन्तुष्टि बढेको बताइएको छ।



बारामा गत शनिबार आयोजित जिल्ला अधिवेशनमा विवाद चर्किएको थियो। एक पक्षले जिल्ला कार्यसमिति एकपक्षीय रूपमा गठन गर्न खोजिएको आरोप लगाउँदै विरोध जनाएको थियो। विवाद उग्र बन्दै गएपछि झडपको अवस्था सिर्जना हुँदा उपस्थित प्रतिनिधिसभा सदस्यहरूले समेत प्रहरीको सहयोग लिनुपरेको थियो।
यसअघि वैशाख २७ गते रास्वपा केन्द्रीय समितिले बारा जिल्ला कार्यसमिति विघटन गर्दै केही पदाधिकारीलाई निष्कासित गरेको थियो। निष्कासित पक्षधरहरूले अधिवेशनमा अवरोध सिर्जना गरेको आरोप प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले लगाएका छन्। यद्यपि अर्को पक्षले भने पार्टीका सक्रिय कार्यकर्तालाई बेवास्ता गरेर अधिवेशन सञ्चालन गर्न खोजिएकाले विरोध गर्नुपरेको दाबी गरेको छ।
केन्द्रीय समितिले बारामा जिल्ला कार्यसमिति गठन नगरी वडा र पालिका अधिवेशन अघि बढाउन निर्देशन दिएको छ।
महोत्तरीको जलेश्वर नगरपालिकामा पनि पालिका अधिवेशनका क्रममा विवाद देखिएको छ। नगर सभापति पदका आकांक्षी अजय साह र विनय रायबीच नेतृत्व चयनको विषयमा मतभेद भएको हो। एक पक्षले सर्वसम्मत नेतृत्व चयनको पक्षमा अडान राखेको थियो भने अर्को पक्षले निर्वाचनमार्फत सभापति चयन गर्नुपर्ने माग गरेको थियो।
धनुषामा पनि विवादकै कारण १८ पालिकामध्ये हालसम्म चार पालिकामा मात्र अधिवेशन सम्पन्न भएको छ। जिल्ला सभापति लक्षमेश्वर यादवका अनुसार मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा मात्र अधिवेशन सम्पन्न भएको छ।
धनुषाधाम नगरपालिकामा जेठ ९ गतेका लागि तोकिएको अधिवेशन विवादका कारण स्थगित भएको थियो। सभापति यादवका अनुसार तदर्थ समिति गठन गरी अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ। यहाँ पनि वर्तमान पालिका संयोजक राजकुमार ठाकुर र युवा पुस्ताका अर्का आकांक्षीबीच नेतृत्व प्रतिस्पर्धा रहेको बताइएको छ।
रास्वपा मधेस प्रदेश आरएटी विभाग संयोजक अम्भुप्रसाद साहले जिल्ला नेतृत्वले अधिवेशन प्रक्रियामा एकलौटी शैली अपनाएको आरोप लगाएका छन्। उनले सक्रिय युवा तथा विभिन्न पक्षका कार्यकर्तालाई समेट्न नसक्दा विवाद बढेको बताएका छन्। यता जिल्ला सभापति यादवले भने अधिवेशन पार्टीको विधानअनुसार नै अघि बढिरहेको दाबी गरेका छन्।
राजनीतिक विश्लेषक तथा प्राध्यापक रामु साहले राजनीतिक दलभित्र पद र शक्ति प्राप्तिको प्रतिस्पर्धा बढ्दा यस्ता विवाद स्वाभाविक रूपमा देखिने गरेको टिप्पणी गरेका छन्। उनका अनुसार रास्वपामा देखिएको वर्तमान विवाद पनि मुख्यतः संगठनात्मक शक्ति र नेतृत्वको प्रतिस्पर्धासँग जोडिएको छ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा मधेस प्रदेशका अधिकांश पालिकामा अधिवेशन सम्पन्न गर्नुपर्ने चुनौती रास्वपाका लागि थप जटिल बन्दै गएको देखिएको छ।




