महोत्तरीको गौशाला नगरपालिका–१२ पडरियास्थित पर्ती टोलमा इनार खन्ने क्रममा एक श्रमिक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर निवासी २२ वर्षीय बसन्तकुमार महतोको आइतबार निस्सासिएर मृत्यु भएको हो ।
इनार खन्ने क्रममा करीब ३६ फिट तल काठको ठूटो फेला परेपछि विद्युतीय आरा (चेनस) मेसिनले काठ काट्ने क्रममा महतो इनारभित्रै बेहोस भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।



अचेत अवस्थाका महतोलाई तत्काल उद्धार गरी उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबास सर्लाही पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे जानकारी दिनुहुँदै जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
स्थानीय रमेशसिंह कुशवाहाका अनुसार गौशाला नगरपालिकाबाट बजेट निकासा भई वडास्तरीय ठेक्का प्रक्रियामार्फत पडरियामा कृषि सिँचाइका लागि इनार खन्ने काम भइरहेको छ । महतो सोही इनारमा दैनिक ज्यालादारीमा काम गर्दै आउनुभएको थियो ।





