जलेश्वर,महोत्तरी – भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनको भन्सार अभिलेख अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू भएपछि सीमावर्ती क्षेत्रका सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।
महोत्तरीको मलिवाडा–भिठामोड भन्सार नाकामा भारतबाट नेपाल प्रवेश गर्ने सवारी चालक तथा यात्रुहरू भन्सार प्रक्रिया पूरा गर्न तीनदेखि चार घण्टासम्म लाइनमा बस्न बाध्य भएका छन्। भन्सार कार्यालयले आवश्यक पूर्वतयारी, पर्याप्त जनशक्ति तथा प्राविधिक व्यवस्थापनबिना नयाँ प्रणाली लागू गर्दा समस्या भएको सेवाग्राहीको भनाइ छ।



भारतको बिहारबाट नेपाल आउने सवारीधनीहरूले अनलाइन दर्ता प्रक्रिया जटिल हुनुका साथै भन्सार कार्यालयमा पर्याप्त सहयोग नपाउँदा बिचौलियाको सहारा लिनुपरेको बताएका छन्। अनलाइन फाराम भर्ने तथा दर्ता गरिदिने नाममा बिचौलियाले प्रतिगाडी रु २०० देखि रु ५०० सम्म असुल्ने गरेको उनीहरूको आरोप छ।
सेवाग्राहीहरूले अनलाइन प्रणालीबारे पर्याप्त जानकारी नहुँदा र कार्यालयमा सहायता व्यवस्था प्रभावकारी नहुँदा अतिरिक्त खर्च बेहोर्नुपरेको बताएका छन्।

स्थानीय व्यवसायी तथा यात्रुहरूले डिजिटल प्रणाली लागू गर्नु सकारात्मक कदम भए पनि आवश्यक पूर्वाधार, सूचना प्रवाह र प्राविधिक सहयोग सुनिश्चित नगरी कार्यान्वयन गर्दा सर्वसाधारणले दुःख पाएको बताएका छन्। उनीहरूले भन्सार कार्यालयमा थप कम्प्युटर, प्राविधिक कर्मचारी तथा सहायता कक्षको व्यवस्था गर्न माग गरेका छन्।
भन्सार कार्यालय जलेश्वरका प्रमुख राजेन्द्र बस्नेतले नयाँ प्रणाली कार्यान्वयनको प्रारम्भिक चरण भएकाले केही समस्या देखिएको स्वीकार गर्दै क्रमशः व्यवस्थापन सुधार गरिने बताए।
सीमावर्ती क्षेत्रमा दैनिक सयौँ भारतीय सवारी साधन नेपाल प्रवेश गर्ने भएकाले अनलाइन भन्सार प्रणालीलाई सहज, सरल र प्रभावकारी बनाउन तत्काल आवश्यक व्यवस्थापन गर्नुपर्ने आवाज उठ्न थालेको छ।




