गौशाला (महोत्तरी) – अत्यधिक गर्मीका कारण महोत्तरीको वर्दिवास नगरपालिकाभित्र सञ्चालित विद्यालयहरू आज र भोली (जेठ २१ र २२ गते) दुई दिनका लागि बन्द गरिएको छ।
वर्दिवास नगरपालिकाले जारी गरेको सूचनाअनुसार जेठ २१ र २२ गते सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारी ले बढ्दो गर्मी र उच्च तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जानकारी दिनुभयो।



पछिल्ला केही दिनयता तराई–मधेश क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। चर्को घाम र अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले नगरपालिकाले दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको जनाएको छ।वर्दिवास नगरपालिकामा ५५ वटा सामुदायिक विद्यालय तथा संस्थागत र धार्मिक विद्यालय गरी ८० भन्दा बढी विद्यालय सञ्चालनमा रहेका छन्।नगरपालिकाले विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन, पर्याप्त मात्रामा पानी पिउन तथा अनावश्यक रूपमा घाममा ननिस्कन आग्रह गरेको छ।
बढ्दो गर्मी र लूका कारण तराई–मधेसका जिल्लाहरुमा जनजीवन प्रभावित बन्दै गएको छ ।नगरपालिकाका अनुसार मौसमको अवस्थालाई ध्यानमा राख्दै आगामी दिनमा विद्यालय सञ्चालन सम्बन्धी निर्णय गरिनेछ।





