महोत्तरी – आर्थिक अभाव तथा स्वास्थ्य सेवाको सीमित पहुँचका कारण अस्पतालसम्म पुग्न नसकेका सीमावर्ती क्षेत्रका सयौँ नागरिकले गाउँमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।सशस्त्र प्रहरी परिवार महिला सङ्घको २५औँ वार्षिकोत्सवका अवसरमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत महोत्तरीको सम्सीस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका हुन् ।
शिविरमा सशस्त्र प्रहरीका चिकित्सकसहित विभिन्न विधाका विशेषज्ञ चिकित्सकले हाडजोर्नी, नाक–कान–घाँटी, बालरोग, स्त्रीरोग, दन्तरोग, चर्मरोग तथा जनरल मेडिसिनसम्बन्धी स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका थिए । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विपन्न, ज्येष्ठ नागरिक तथा महिलाले शिविरबाट विशेष लाभ लिएको जनाइएको छ ।




सीमा सुरक्षाको जिम्मेवारीमा खटिने सशस्त्र प्रहरीले गाउँमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । सुरक्षा निकायले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको यस्तो कार्यक्रमले सीमावर्ती क्षेत्रका नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेको उनीहरूको भनाइ छ ।
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सीमावर्ती क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविर प्रभावकारी र उदाहरणीय रहेको बताउनुभयो । उहाँले राज्यका निकायले नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमले सरकार र नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीले सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा सहयोग पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा उपचार तथा परामर्श लिन आउने सेवाग्राहीको सहभागिता उत्साहजनक रहेको थियो ।
स्थानीयवासीले यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन् । सीमा सुरक्षा मात्र नभई नागरिकको स्वास्थ्य र जीवनस्तरसँग जोडिएका विषयमा समेत सशस्त्र प्रहरीको सक्रियताले सीमावर्ती क्षेत्रमा भरोसा र राहतको अनुभूति गराएको छ ।





