महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–१२ पररिया स्थित निर्माणाधीन इनारमा काम गर्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएको घटनामा वडा अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दर्ता गरिएको छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ निवासी चन्द्रप्रकाश महतोले आफ्ना २१ वर्षीय छोरा बसन्त कुमार कुशवाहाको मृत्यु लापरवाहीका कारण भएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएका हुन्।



जाहेरीअनुसार निर्माणाधीन इनारभित्र रुखको जरा काट्ने क्रममा प्रयोग गरिएको मेसिनबाट निस्किएको धुवाँका कारण बसन्त कुमार कुशवाहा निसास्सिएर बेहोस भएका थिए। गम्भीर अवस्थामा उनलाई उपचारका लागि तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
पीडित परिवारले गौशाला नगरपालिका–१२ का वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको छ। परिवारले इनारभित्र काम गर्दा आवश्यक सुरक्षा सतर्कता नअपनाइएको तथा जोखिमबारे जानकारी हुँदाहुँदै पनि श्रमिकलाई काममा लगाइएको कारण घटना भएको आरोप लगाएको छ।
इलाका प्रहरी कार्यालय गौशालाले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ। प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदन, घटनास्थल मुचुल्का, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
घटनाका मुख्य आरोपितमध्ये रहेका वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ। यस विषयमा उनको आधिकारिक प्रतिक्रिया पनि प्राप्त हुन सकेको छैन।
यस घटनाले स्थानीय तहअन्तर्गत सञ्चालन हुने निर्माण तथा पूर्वाधारसम्बन्धी काममा श्रमिक सुरक्षाको विषय पुनः गम्भीर रूपमा उठाएको छ। पीडित परिवारले दोषीमाथि कानुनी कारबाही तथा उचित क्षतिपूर्तिको माग गरेका छन्।





