धनुषा । मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शङ्करप्रसाद चौधरीले लागुऔषध दुर्व्यसनविरुद्धको अभियानमा सरकार दृढतापूर्वक लागिरहेको बताउँदै यसको नियन्त्रणका लागि सबै सरोकारवाला पक्षबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
नेपाल–भारत मैत्री युवा सङ्घद्वारा आइतबार जनकपुरधाममा आयोजित ‘लागुऔषधविरुद्ध जनचेतना अभियान’ कार्यक्रममा मन्त्री चौधरीले लागुऔषधको बढ्दो प्रयोग समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्नुभयो। विशेषगरी युवापुस्तामा यसको प्रभाव बढ्दै गएकाले सचेतना अभिवृद्धि र रोकथामका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।



सङ्घका धनुषा अध्यक्ष बजरङ्ग यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले लागुऔषधको दुरुपयोगले सामाजिक, शैक्षिक तथा पारिवारिक क्षेत्रमा नकारात्मक असर पारिरहेको धारणा राख्दै यसको नियन्त्रणका लागि सरकारी निकाय, शैक्षिक संस्था, अभिभावक र समुदायबीच समन्वयात्मक प्रयास अपरिहार्य रहेको बताए।
उनीहरूले विद्यालय तहदेखि नै नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी विद्यार्थी तथा युवालाई लागुऔषधको दुर्व्यसनबाट जोगाउन आवश्यक रहेको उल्लेख गरे। साथै, लागुऔषधमुक्त समाज निर्माणका लागि यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्दै समाजका हरेक तहमा सचेतना विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा अन्य सरोकारवालाले पनि लागुऔषधविरुद्ध जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजक संस्थाले आगामी दिनमा समेत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै लागुऔषध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका सचेतक तथा प्रदेशसभा सदस्य कुमरकान्त झा, प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री शेषनारायण यादव, सङ्घका महासचिव कृष्ण सिंह, नयाँ मुस्कान सुधार केन्द्रका पदाधिकारी, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
तस्बीर :
नेपाल–भारत मैत्री युवा सङ्घद्वारा आइतबार जनकपुरधाममा आयोजित ‘लागुऔषधविरुद्ध जनचेतना अभियान’ कार्यक्रममा सहभागी हुँदै मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शङ्करप्रसाद चौधरी लगायत अतिथिहरु । तस्बीर : अजयकुमार साह, रासस धनुषा





