अन्तर्राष्ट्रियस्तर मा नै नेपाली खानाको पहिचान विस्तार गर्दै ख्याति कमाउनुभएका नेपाली सेफ सन्तोषकुमार साह बैंकिङ कसुर तथा ठगीसम्बन्धी आरोपमा पक्राउ पर्नुभएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उहाँलाई शुक्रबार राति धनुषाको जनकपुर उपमहानगरपालिका–८, रामानन्द चोकबाट नियन्त्रणमा लिएको हो।



गौरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्ने क्रममा बैंकिङ कसुर तथा ठगी गरेको आरोपमा साहविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार सकुन्तला अधिकारी (थापा) को जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो।
अदालतको अनुमतिपछि फरार रहनुभएका ४१ वर्षीय साहलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो। सोही मुद्दामा संलग्न रहेको आरोपमा सिरहाको कर्जन्हा नगरपालिका–९ निवासी ५८ वर्षीय नारायण साह सुडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ। सार्वजनिक बिदाका कारण उहाँलाई सोमबार मात्र अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको छ।
सिरहाको कर्जन्हामा जन्मिनुभएका साहले विश्वभर नेपाली खानाको प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय पहिचान बनाउनुभएको छ। उहाँ सन् २०२० मा बीबीसीको चर्चित कार्यक्रम ‘मास्टरसेफ: द प्रोफेशनल्स’ मा पहिलो रनरअप बन्नुभएको थियो भने सन् २०२१ मा ‘मास्टरसेफ: द प्रोफेशनल्स रिम्याच’ को उपाधि जितेर थप चर्चामा आउनुभएको थियो।
साहले जनकपुर र काठमाडौंमा पनि मिथिला थाली नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।




