महोत्तरी – महोत्तरीको रामगोपालपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४९ करोड ५५ लाख ३८ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १४औँ नगरसभाको खुला अधिवेशनमा नगर प्रमुख राम दुलार शाहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
नगरपालिकाले सार्वजनिक गरेको बजेटमा संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँडलाई प्रमुख स्रोतका रूपमा समेटिएको छ।



संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु ९ करोड ८० लाख, सशर्त अनुदानतर्फ रु १६ करोड ७६ लाख, विशेष अनुदानतर्फ रु ३ करोड ३० लाख, समपूरक अनुदानतर्फ रु १ करोड ७० लाख र राजस्व बाँडफाँडतर्फ रु ९ करोड ५७ लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु ६६ लाख ४७ हजार, विशेष अनुदानतर्फ रु २० लाख, समपूरक अनुदानतर्फ रु ३० लाख, राजस्व बाँडफाँडतर्फ रु ६५ लाख र सशर्त अनुदानतर्फ रु ६० लाख बजेटमा समावेश गरिएको छ।
नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट रु ३ करोड आन्तरिक आम्दानी, मालपोतबाट प्राप्त हुने स्थानीय राजस्वतर्फ रु १ करोड ५० लाख तथा गत वर्षको बचत रकमबाट रु १ करोड ५० लाख व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।
नगरसभामा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोज यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नगर प्रमुख शाहले रामगोपालपुर क्षेत्रको कृषि तथा पशुपालनलाई आधुनिकीकरण गर्ने, व्यावसायिक खेती विस्तार गर्ने तथा युवालाई उत्पादनमूलक क्षेत्रमा जोड्ने कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
उहाँले नगरपालिकाले गरिबी न्यूनीकरण, महिला तथा सामाजिक समावेशीकरण, कला–संस्कृति संरक्षण, खेलकुद विकास, कृषि तथा पशुपालन प्रवर्द्धन, उद्योग–वाणिज्य, पर्यटन, रोजगारी सिर्जना, सहकारी, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सिँचाइ, सहरी विकास, सञ्चार, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सुशासनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो। नगरपालिकाका अनुसार प्रस्तुत बजेटले स्थानीय पूर्वाधार निर्माण, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा नगरको आर्थिक र सामाजिक विकासलाई गति दिने लक्ष्य लिएको छ।
नगरसभाबाट पारित भएपछि बजेट कार्यान्वयन प्रक्रियामा जानेछ।




