ढल्केबर । मधेश प्रदेशलाई अन्नको भण्डारसँगै आँपको राजधानी पनि भन्ने गरिन्छ। देशभर उत्पादन हुने कुल आँपमध्ये तीन चौथाइभन्दा बढी आँप मधेशमै उत्पादन हुने भएकाले यो उपाधि दिइएको हो। बम्बई, माल्दा, दसहरी, कृष्णभोग, आम्रपाली, कलकतिया, जर्दालुलगायत ४० भन्दा बढी जातका आँप यहाँ उत्पादन हुने गरेका छन्। उर्वर भूमि, अनुकूल हावापानी र किसानको परिश्रमका कारण मधेश नेपालको सबैभन्दा ठुलो आँप उत्पादन केन्द्र बनेको छ। यहाँका किसान व्यावसायिक तथा परम्परागत दुवै तरिकाले आँप खेती गर्दै आएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशको तथ्याङ्क अनुसार नेपालभर ४२ हजार ७७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ। यसबाट वार्षिक पाँच लाख १३ हजार ५५ मेट्रिक टन आँप उत्पादन हुन्छ। त्यसमध्ये मधेश प्रदेशमा मात्रै २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ, जहाँबाट वार्षिक तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ।



उत्पादनका हिसाबले सिराहा अग्रस्थानमा रहेको छ, जहाँ वार्षिक एक लाख चार हजार ६७६ मेट्रिक टन आँप उत्पादन हुन्छ। त्यसपछि सप्तरीमा ९६ हजार मेट्रिक टन, रौतहटमा ६२ हजार ५६१, सर्लाहीमा ३९ हजार ११८, धनुषामा ३६ हजार ९१६, महोत्तरीमा ३२ हजार ७२२, बारामा १९ हजार २६९ तथा पर्सामा चार हजार ७३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ। तथ्याङ्क अनुसार देशको कुल आँप उत्पादनमध्ये ७७.१ प्रतिशत योगदान मधेश प्रदेशको रहेको छ।
धनुषाको बटेश्वरका युवा फुलगेन महतोले प्रदेश आँप उत्पादनको केन्द्र भए पनि बजारीकरणको समस्या रहेको बताउनुभयो। किसानले अहिले प्रतिकिलो ३० देखि ५० रुपियाँमा आँप बिक्री गर्न बाध्य रहेको उहाँको भनाइ छ।
महतोले यही अवस्थालाई ध्यानमा राखेर आँपको बजारीकरण तथा आँपमार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले विगत तीन वर्षदेखि बटेश्वरस्थित आँप बगैँचामा आँप मेला–महोत्सव आयोजना गर्दै आएको बताउनुभयो। उहाँका अनुसार मधेशका हजारौँ परिवार प्रत्यक्ष रूपमा आँप खेतीमा संलग्न छन्। पछिल्ला वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका युवासमेत आधुनिक बगैँचा स्थापना गरी आँप खेतीतर्फ आकर्षित हुन थालेका छन्। एकपटक रोपेपछि दशकौँसम्म उत्पादन दिने भएकाले किसानले यसलाई दीर्घकालीन लगानीका रूपमा लिन थालेको उहाँको भनाइ छ।
नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ, मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले स्थानीय आँपको व्यवस्थित बजारीकरणका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। स्थानीय आँप भण्डारण गर्ने विषयमा अब विशेष ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “स्थानीय आँपलाई भण्डारण गरेर सिजनपछि बिक्री गर्ने वातावरण बनाउन सकियो भने किसानले राम्रो मूल्य पाउन सक्छन्।”
उहाँका अनुसार आँपबाट बन्ने अचार, अमोट, सुकुटी, जाम, जुस, स्क्वासलगायत परिकारको व्यावसायिक उत्पादन गर्न आवश्यक छ। साथै आँपलाई पर्यटनसँग जोडेर ‘म्याङ्गो टुरिजम’ को अवधारणा विकास गर्न सकिने सम्भावना पनि रहेको उहाँको भनाइ छ। मिथिला संस्कृति, स्थानीय परिकार र आँपजन्य उत्पादनलाई एकीकृत गरेर पर्यटन प्रवर्धन गर्न सकिने अध्यक्ष गौतमले बताउनुभयो।
नेपाल उद्योग परिसङ्घ, मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले कुनै समय घरआँगनमा सीमित रहेको आँप आज मधेशको आर्थिक सम्भावनाको महत्त्वपूर्ण आधार बनेको बताउनुभयो। उत्पादनसँगै प्रशोधन, भण्डारण, ब्रान्डिङ र निर्यातलाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका सचिव डा. सञ्जयकुमार यादवले आँप उत्पादन तथा बजार विस्तार मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँका अनुसार प्रशोधन केन्द्र स्थापना, भण्डारण व्यवस्था तथा आँपबाट जुस, अचार, पाउडरलगायत परिकार उत्पादन गरी स्वदेश तथा विदेशमा निर्यात गर्ने योजनामा मन्त्रालयले काम गरिरहेको छ।
सचिव यादवले भन्नुभयो, “आँप उत्पादनलाई अझ प्रविधिमैत्री, आधुनिक र निर्यातमुखी बनाउने योजना छ। यसले मधेश प्रदेशको आर्थिक समृद्धिमा ठुलो टेवा पुर्याउने छ।”
उहाँले मधेशको माटो र हावापानी आँप खेतीका लागि अत्यन्त उपयुक्त रहेको बताउँदै देशभर उत्पादन हुने आँपमध्ये ७७ प्रतिशतभन्दा बढी मधेश प्रदेशको योगदान रहेको जानकारी दिनुभयो।




