जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, प्रदेश व्यवस्था र समावेशितामाथि हुने कुनै पनि प्रहार स्वीकार्य नहुने बताएका छन् । उनले प्रदेश संरचना खारेज गर्ने बहस संविधानको मर्मविपरीत भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न जसपा नेपाल दृढतापूर्वक उभिने बताए ।
जसपा नेपालले जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशबाट प्रतिनिधिसभा निर्वाचन–२०८२ का प्रत्याशीहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै यादवले पार्टीको मूल उद्देश्य सामाजिक न्याय, पहिचान र अधिकारको आन्दोलन भएकाले लक्ष्य प्राप्त नभएसम्म सङ्घर्ष जारी रहने स्पष्ट पारे ।



मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष यादवले एउटा निर्वाचनको परिणामलाई अन्तिम सत्यका रूपमा नलिन नेता–कार्यकर्तालाई आग्रह गरे । उनले संगठनलाई गाउँदेखि प्रदेशसम्म थप सुदृढ बनाउँदै आगामी निर्वाचन र राजनीतिक अभियानका लागि अहिलेदेखि नै तयारीमा जुट्न निर्देशन दिए ।
यादवले पार्टीभित्र इमानदार, सक्रिय युवा, महिला र दलित समुदायलाई नेतृत्वमा अवसर दिनुपर्नेमा जोड दिँदै विगतमा पार्टीलाई धोका दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा राखे। संगठन पुनर्गठनसँगै नियमित प्रशिक्षण सञ्चालन गरी पार्टीको वैचारिक आधार बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले डिजिटल युगमा सामाजिक सञ्जाल पार्टीको प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै नेता–कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत पार्टीका नीति, विचार र गतिविधि जनतामाझ पुर्याउन सक्रिय हुन आग्रह गरे ।
अध्यक्ष यादवले आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गरी पार्टीका सबै तहका नेता–कार्यकर्ताले जनताबीच निरन्तर पुग्नुपर्ने बताए । वर्गीय समानता, समाजवाद, सामाजिक न्याय र समावेशी शासनका एजेन्डालाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने उनको जोड थियो ।
उनले विगत तीन दशकभन्दा बढी अवधिमा पटक पटक सरकार फेरिए पनि नागरिकले अपेक्षा गरेअनुसार सुशासन, विकास र रोजगारीको अनुभूति गर्न नसकेको दाबी गर्दै यही कारणले परम्परागत राजनीतिक दलप्रति जनविश्वास कमजोर बन्दै गएको टिप्पणी गरे ।
गणतन्त्र, सङ्घीयता र सामाजिक न्यायको रक्षा गर्दै मुलुकलाई सही दिशामा लैजान जसपा नेपाल एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।




