धनुषा । किसानका खेतमा समयमै सिँचाइ सुविधा उपलब्ध गराउन, पानीपोत रकमको पारदर्शी व्यवस्थापन गर्न तथा सरकारी बजेटको प्रभावकारी कार्यान्वयनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गणेशमान चारनाथ नगर कमिटीका युवाहरूले कमला सिँचाइ आयोजना, परताहा पुगेर डेलिगेसन बुझाएका छन्।
डेलिगेसन टोलीले किसानबाट उठाइने पानीपोत रकमको आय–व्यय सार्वजनिक गर्न, उपभोक्ता समितिको लेखाजोखा पारदर्शी बनाउन तथा सिँचाइ आयोजनाको बजेट कार्यान्वयनबारे स्पष्ट जानकारी दिन माग गरेको छ।



कमला सिँचाइ आयोजना, परताहाका कार्यालय प्रमुख रणधीर कुमार साहका अनुसार किसानबाट उठाइने प्रत्येक १०० रुपैयाँ पानीपोत रकममध्ये २० रुपैयाँ मात्र आयोजनाको खातामा जम्मा हुने र बाँकी रकम मूल नहर उपभोक्ता समिति तथा शाखा–परशाखा उपभोक्ता समितिहरूले सञ्चालनका लागि राख्ने गरेका छन्।
कमला सिँचाइ आयोजना अन्तर्गत सिराहा र धनुषाका आठवटा पालिकासम्म नहर सञ्जाल विस्तार भएको छ। यस आयोजनाबाट करिब दुवै जिल्लामा ३६ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ। यति ठूलो क्षेत्रफललाई सिँचाइ सेवा दिन केन्द्र सरकारले चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ, जुन अत्यन्त अपुग रहेको मूल नहर उपभोक्ता समितिका अध्यक्ष श्याम बाबु यादवले बताएका छन्।
उनका अनुसार वार्षिक रूपमा किसानका खेतसम्म प्रभावकारी रूपमा सिँचाइ सुविधा पुर्याउन, नहर मर्मत, सरसफाइ, बाँध तथा संरचना निर्माणका लागि कम्तीमा २० करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने अवस्था रहेको छ।
अध्यक्ष यादवले शाखा–परशाखा समितिबाट उठाइने पानीपोत रकम पनि अत्यन्त न्यून रहेको बताए। किसानहरूले प्रत्येक कठ्ठामा १० रुपैयाँ, नवीकरण शुल्क २५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था भए पनि आर्थिक अवस्था कमजोर भएका कारण धेरै किसानले समयमै शुल्क तिर्न नसकेको र बक्यौता रहने गरेको उनको भनाइ छ।

यसैबीच, मधेश प्रदेशलाई दीर्घकालीन रूपमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित सुनकोसी डाइभर्सन आयोजना, जसअन्तर्गत बागमती, कमला र बलान नदीलाई समेटेर मधेशभरि ड्याम र नहर निर्माण गरी सिँचाइ विस्तार गर्ने योजना रहेको छ, त्यसलाई छिटो कार्यान्वयनका लागि केन्द्र सरकारसमक्ष पहल गरिदिन डेलिगेसनमार्फत कार्यालय प्रमुखले आग्रह गरेका छन्।
डेलिगेसन टोलीले समयमै नहर मर्मत, बाँध तथा फाटक निर्माण, कुलो सरसफाइ, ठेक्का सम्झौताअनुसार असार मसान्तसम्म सम्पन्न हुनुपर्ने कामको अवस्था तथा किसानको खेतसम्म सिँचाइ पुगे–नपुगेको विषयमा व्यापक छलफल आवश्यक रहेको जनाएको छ।
यसै सन्दर्भमा २०८३ असार २२ गते डेलिगेसन टोली, कमला सिँचाइ आयोजना, उपभोक्ता समितिका पदाधिकारी, किसान तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ। उक्त कार्यक्रममा किसान, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला सबैलाई सहभागी हुन आह्वान गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी गणेशमान चारनाथ नगरपालिकाका राकेश यादव, बाली शर्मा, महादेव यादव, अर्जुन यादव, सूर्यनाथ यादव, विष्णुदेव महतो र विनोद महरा लगायतका युवाहरूको नेतृत्वमा गएको डेलिगेसनले किसानको सिँचाइको अधिकार सुनिश्चित नभएसम्म र समस्या समाधानका ठोस पहल नभएसम्म थप आन्दोलनका कार्यक्रम अघि बढाउन सकिने चेतावनीसमेत दिएको छ।




