महोत्तरी । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत पर्सा र पिपराबिच निर्माणाधीन कुटमेश्वरी पुलका कारण सवारी आवागमनमा कठिनाइ भएको छ।
महोत्तरी गाउँपालिका–१, पर्सास्थित बिगही खोलामाथि निर्माणाधीन कुटमेश्वरी पुलमा सामान्य वर्षा हुँदा पनि डाइभर्सन भासिने र बग्ने गरेकाले घण्टौँसम्म सवारी आवागमन अवरुद्ध हुने गरेको छ। माटो र बालुवाबाट बनाइएको डाइभर्सन सामान्य वर्षामै बग्ने तथा पुलसँग जोडिएको माटोको सडकमा ठुला सवारी साधन गुड्दा बाटो भासिने समस्याका कारण यात्रुले सास्ती खेप्नुपरेको स्थानीयवासी बताउँछन्।



जलेश्वरस्थित प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक डा. रोशनकुमार साहले आफू दैनिक जनकपुरबाट निजी सवारीमार्फत ओहोरदोहोर गर्ने गरेको बताउँदै सामान्य वर्षा भए पनि घण्टौँसम्म जाम हुने समस्या रहेको बताउनुभयो। सोमबार वर्षापछि बाटोमा बस भासिँदा आफूले वैकल्पिक मार्ग प्रयोग गरेर अस्पताल पुग्नुपरेको उहाँले गुनासो गर्नुभयो। पुलको डाइभर्सन बन्द भएपछि करिब १० किलोमिटर लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको उहाँको भनाइ छ।
भारतीय सीमावर्ती क्षेत्र भिठामोडदेखि जनकपुरसम्म जोड्ने मुख्य सडकका रूपमा रहेको यस सडकखण्डमा पुल निर्माण समयमै सम्पन्न नहुँदा हरेक वर्षायाममा सवारी आवागमन प्रभावित हुने गरेको छ।
२०७९ फागुन २ गते रामजानकी निर्माण सेवा, जनकपुरधामले करिब २० करोड रुपियाँ लागतमा कुटमेश्वरी पुल निर्माणको ठेक्का पाएको थियो। ४० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्ने सम्झौता भए पनि तोकिएको समयमै काम सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थपिँदै आएको छ।
पहिलो सम्झौता अवधि सकिएपछि निर्माण कम्पनीलाई २०८३ साउन ११ गतेसम्मका लागि पुनः म्याद थप गरिएको थियो। तर दोस्रो पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहँदासमेत पुल निर्माणको प्रगति ५० प्रतिशतभन्दा कम रहेको देखिएको छ।
स्थानीय युवा पङ्कज पासवानले गर्मीयाममा धुलो र वर्षायाममा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुनु यस पुलको ‘विशेषता’ जस्तै बनेको भन्दै व्यङ्ग्य गर्नुभयो। उहाँले पिपरा गाउँपालिका, महोत्तरी गाउँपालिका, मटिहानी नगरपालिका र जलेश्वर नगरपालिकाका प्रमुखहरूले समन्वय गरेर समस्या समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘‘वर्षायाम सुरु भइसकेको छ। सामान्य वर्षा हुँदा नै सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ। पानी धेरै परे यो सडक पूर्ण रूपमा अवरुद्ध हुन्छ। चार वर्ष हुन लाग्दासमेत पुल निर्माण सम्पन्न भएको छैन, डाइभर्सन पनि सामान्य पानीको बहावले बगाइदिन्छ।’’




