सुजाता राई
विराटनगर । मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी जन्मजयन्तीको अवसरमा असार १४ देखि १७ गतेसम्म विराटनगर क्षेत्रमा सञ्चालन गरेको रचनात्मक गतिविधि अन्तर्गतका विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण तथा विचार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।



चारदिने कार्यक्रमअन्तर्गत असार १४ र १५ गते १६ देखि ४० वर्ष उमेर समूहका पुरुषबीच आयोजना गरिएको खुला कुशल प्रतियोगिताको समापन यसअघि नै भए पनि पुरस्कार वितरण बाँकी रहेको थियो। त्यसैगरी असार १६ गते विराटनगर क्षेत्रका माध्यमिक विद्यालयका विद्यार्थीबीच ‘युवा राजनीति र अनुशासन’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो। उक्त प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई पनि सोही कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो।
असार १७ गते बिहान १८ देखि ५० वर्ष उमेर समूहका पुरुषहरूको खुला ५ किलोमिटर सडक दौड प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयसहित विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रतिनिधिलाई पुरस्कार वितरण गरिएको थियो। सोही अवसरमा मदन भण्डारी जन्मजयन्तीको सन्दर्भमा विचार अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्या भण्डारी, विशिष्ट अतिथिका रूपमा कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कार्की उपस्थित थिए। अतिथिहरूमा नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, पार्टी केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निरौला कार्की, नेकपा एमाले सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, नेकपा एमाले मोरङ अध्यक्ष अजम्बर राई लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि भण्डारीले मदन भण्डारी फाउन्डेसन कुनै राजनीतिक दल नभई विचारको अध्ययन, अनुसन्धान र प्रयोगका लागि स्थापित संस्था भएको बताइन्। फाउन्डेसनले निर्वाचन नलड्ने उल्लेख गर्दै उनले जनताको बहुदलीय जनवाद मदन भण्डारीले नेपालको सन्दर्भमा मौलिक राजनीतिक विचारका रूपमा अघि सारेको स्मरण गरिन्। उक्त विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रक्रिया सुरु भए पनि उहाँको असामयिक निधनका कारण त्यसले पूर्णता पाउन नसकेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा फाउन्डेसन निरन्तर क्रियाशीलज रहेको धारणा व्यक्त गरिन्।
कार्यक्रम विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निरौला कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन नवीन पहाडीले गरेका थिए।




